मोरङको सुकुना माविद्वारा आरोपी शिक्षक-कर्मचारी निलम्बित, निष्पक्ष छानबिनका लागि पाँच सदस्यीय समिति गठन
शिक्षाखबर डेस्क
१ घण्टा अगाडि
no immg

मोरङ / मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयले सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका घटनाक्रमबारे गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आरोपित शिक्षक तथा कर्मचारीहरूलाई तत्काल निलम्बन गरेको छ। सामाजिक सञ्जालको ‘S/K/N Confession & Meme’ नामक समूहबाट विद्यालयका गतिविधि तथा कमी-कमजोरीहरूबारे विषय उठान भएपछि विद्यालय प्रशासनले निष्पक्ष छानबिनका लागि सम्बन्धित निकायहरूसँग समन्वय गरी प्रक्रिया अघि बढाएको हो। ५ हजार २०० भन्दा बढी विद्यार्थी र १७८ जना शिक्षक-कर्मचारी कार्यरत यस विद्यालयले कमी-कमजोरी औँल्याएर शुद्धीकरणमा सहयोग पुर्याएकोमा उक्त सामाजिक सञ्जाल समूहलाई धन्यवाद दिँदै पीडितले न्याय पाउनुपर्ने र दोषी ठहरिनेमाथि कडा सजाय हुनुपर्ने स्पष्ट पारेको छ।

प्रधानाध्यापक राजेन्द्रप्रसाद गिरी, शिक्षक-अभिभावक सङ्घ ( PTA ) का अध्यक्ष खगेन्द्रप्रसाद घिमिरे, र विद्यालय व्यवस्थापन समिति ( SMC ) का अध्यक्षद्वारा संयुक्त रूपमा जारी प्रेस विज्ञप्तिमा निष्पक्ष छानबिन प्रक्रिया चलिरहेका बेला सामाजिक सञ्जालमार्फत निर्दोष शिक्षक-कर्मचारीहरूमाथि विनाप्रमाण आरोप-प्रत्यारोप नलगाउन अपिल गरिएको छ। आधारहीन होहल्ला र प्रचारबाजीले लामो समयदेखि स्थापित विद्यालयको साख र निर्दोष शिक्षकहरूको मानमर्यादामा आँच आउने भएकाले छानबिनलाई प्रभावित पार्ने खालका गतिविधि नगर्न विद्यालय परिवारले अनुरोध गरेको छ।

शिक्षण सिकाइका अतिरिक्त अन्य कुनै पनि सरोकार वा गुनासो भएमा सुरक्षित रूपमा विद्यालय प्रशासन, स्थानीय प्रहरी वा नगरपालिकाको शिक्षा शाखामा सम्पर्क गर्न आह्वान गरिएको छ। विद्यालयले गुनासो व्यवस्थापनलाई पारदर्शी र व्यवस्थित बनाउन विद्यालय व्यवस्थापन समिति, शिक्षक-अभिभावक सङ्घ, र वडा प्रतिनिधि रहने गरी पाँच सदस्यीय ‘गुनासो सुनुवाइ समिति’ गठन गरेको छ। घटनाक्रमबाट विचलित नभई धैर्यधारण गर्न आग्रह गर्दै विद्यालय सञ्चालन पश्चात् सम्पूर्ण विद्यार्थीहरूलाई पठनपाठनमा निर्धक्क भएर संलग्न गराउन आम अभिभावक, बुद्धिजीवी, शिक्षाप्रेमी र जनप्रतिनिधिहरूसँग विद्यालय प्रशासनले हार्दिक अपिल गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर
भर्खरै