तानसेन (पाल्पा) / पाल्पाको तानसेनस्थित मिलेनियम माध्यमिक विद्यालयको क्यान्टिनमा बिहीबार दिउँसो आगलागी हुँदा कक्षा एलकेजी (LKG) मा अध्ययनरत चार जना बालिका घाइते भएका छन्। दिवा खाजा खुवाउने क्रममा ग्यासको पाइप लिक भई एक्कासि आगलागी हुँदा क्यान्टिनमा खाजा खाइरहेका साना बालबालिकाहरू आगोको चपेटामा परेका हुन्। घाइते हुने बालिकाहरूमा तानसेनका सचिता बानु, पर्सुजा दङ्गाल, अनुष्का कुमाल र आरन्या शाक्य रहेका छन्। घाइतेमध्ये ३० देखि ३५ प्रतिशत शरीर जलेकी सचिता बानुको अवस्था गम्भीर रहेकाले तानसेनस्थित मिसन अस्पतालमा प्रारम्भिक उपचार पश्चात् थप उपचारका लागि काठमाडौँस्थित कीर्तिपुर बर्न अस्पतालमा रिफर गरिएको छ।
अन्य तीन जना बालिका पर्सुजा दङ्गाल, अनुष्का कुमाल र आरन्या शाक्यको कपाल डढ्नुका साथै हात र खुट्टामा सामान्य चोट लागेकाले मिसन अस्पतालमा प्रारम्भिक उपचार पछि डिस्चार्ज गरिएको छ। विद्यालयका प्रिन्सिपल महेन्द्र पोखरेलका अनुसार साना बालबालिकाहरूलाई खाजा खुवाउने क्रममै ग्यास लिक भएर आगलागी भएको हो। घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक (डिएसपी) भीमलाल भट्टराईले जानकारी दिनुभएको छ।
घटनापछि आक्रोशित बनेका अभिभावकहरूले विद्यालय प्रशासनको चरम लापरवाहीका कारण कलिला बालबालिका दुर्घटनाको जोखिममा परेको गुनासो गरेका छन्। एउटै साँघुरो कोठामा एकातिर आगो बालेर खाजा पकाउने र सोही स्थानमा साना बालबालिकाहरूलाई नजिकै राखेर खाजा खुवाउने गरिएकाले ग्यास लिक हुनासाथ बालबालिकाहरू सोझै आगोको चपेटामा परेको अभिभावकहरूको भनाइ छ। यस घटनाले विद्यालयहरूमा क्यान्टिन सुरक्षा, ग्यास तथा अग्नि नियन्त्रणका न्यूनतम मापदण्ड पालनाबारे गम्भीर प्रश्न उठाएको छ।






