मन्त्री सीता बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको स्थलगत अनुगमन: बालमैत्री पूर्वाधार निर्माणमा जोड
शिक्षाखबर डेस्क
१ घण्टा अगाडि
no immg

काठमाडौँ / महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले सिंहदरबारस्थित दिवा शिशु केन्द्रको स्थलगत अनुगमन गर्नुभएको छ। अनुगमनमा मन्त्रालयका वरिष्ठ अधिकारीहरू तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिवको समेत सहभागिता रहेको थियो। सो अवसरमा मन्त्री बादीले केन्द्रको सेवा सञ्चालन, बालबालिकाका लागि उपलब्ध गराइएको हेरचाह, भौतिक पूर्वाधार, र समग्र व्यवस्थापनको वस्तुस्थितिबारे विस्तृत अवलोकन गर्नुभएको थियो।

अनुगमनका क्रममा केन्द्र परिसरमा रहेको पुरानो भवनको संरचनागत अवस्था, त्यसको उपयोगिता, र दिवा शिशु केन्द्रका रूपमा थप प्रभावकारी रूपमा प्रयोग गर्न सकिने सम्भावनाबारे गहन अध्ययन गरिएको थियो। उक्त पुरानो भवनलाई आवश्यक मर्मत तथा स्तरोन्नति गरी दिवा शिशु केन्द्रका रूपमा उपयोग गर्ने वा केन्द्रको नयाँ आवश्यकताअनुरूप पुनर्संरचना गर्ने विषयमा प्राविधिक अध्ययन गरी द्रुत रूपमा प्रक्रिया अगाडि बढाउनेबारे बैठकमा छलफल भएको थियो।

मन्त्री बादीले प्रारम्भिक बाल स्याहार तथा संरक्षण सेवाको गुणस्तर अभिवृद्धिका लागि सुरक्षित, सुविधासम्पन्न र पूर्ण बालमैत्री पूर्वाधार अनिवार्य रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले दिवा शिशु केन्द्रको दीर्घकालीन आवश्यकता, सेवा विस्तार, र बालबालिकाको सर्वोत्तम हितलाई दृष्टिगत गरी पूर्वाधार विकासका सम्भावित विकल्पहरूमा आवश्यक तयारी अगाडि बढाउन निर्देशन दिनुभयो। अनुगमनका क्रममा भएका छलफलका आधारमा दिवा शिशु केन्द्रको पूर्वाधार सुधार तथा पुनर्संरचनासम्बन्धी विषयमा सम्बन्धित निकायहरूबिच आवश्यक समन्वय र प्राविधिक अध्ययनको प्रक्रिया अगाडि बढाउने समझदारीसमेत बनेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर