क्वालालम्पुर / वित्तीय क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (AI) को प्रयोग तीव्र गतिमा बढिरहेका बेला मलेसियाले देशकै पहिलो पूर्ण एआई-सञ्चालित ‘राइट बैंक’ (Ryt Bank) सञ्चालनमा ल्याएको छ। वाईटीएल ग्रुप (YTL Group) र सी लिमिटेड (Sea Limited) को सहकार्यमा निर्मित यस नवप्रवर्द्धनात्मक फिनटेक पहलको नेतृत्व वाईटीएल पावर इन्टरनेसनलले गरेको हो। वाईटीएलका प्रबन्ध निर्देशक दातो श्री येओह सेओक होङका अनुसार स्थानीय एआई प्रविधिलाई मलेसियाली बहुसांस्कृतिक मूल्यमान्यतासँग जोडेर नागरिकहरूले अपनत्व महसुस गर्न सक्ने आधुनिक बैंकिङ सेवाको निर्माण गरिएको हो।
राइट बैंकको मुख्य आकर्षण यसको डिजिटल सहायक ‘राइट एआई’ (Ryt AI) हो, जुन मलेसियामै विकसित पहिलो ठुलो भाषा मोडल (LLM) ‘इल्मु’ (ILMU) मा आधारित छ। यस एआई सहायकले मलेसियाली नागरिकहरूले दैनिक रूपमा प्रयोग गर्ने भाषा, लवज र संस्कृतिको मर्म बुझ्दै प्राकृतिक संवादमार्फत बैंकिङ सेवा प्रदान गर्दछ। हाल अङ्ग्रेजी र बहासा मलेसिया भाषामा उपलब्ध यसको मोबाइल एपमा शीघ्र नै मन्दारिन भाषासमेत थपिनेछ। ग्राहकहरूले केवल च्याट सन्देश पठाएर वा बिल तथा रसिदको फोटो खिचेर अपलोड गरी ड्युइटनाउ (DuitNow) र जोमपे (JomPAY) मार्फत तुरुन्तै बिल भुक्तानी तथा रकम स्थानान्तरण गर्न सक्नेछन्।
यस फिनटेक एपमार्फत ग्राहकले बचत, खर्च, कर्जा, र भुक्तानीसम्बन्धी सबै सुविधाहरू एउटै प्लेटफर्मबाट प्राप्त गर्न सक्नेछन्। बैंकले बिनाकुनै लक-इन अवधि दैनिक रूपमा ब्याज जम्मा हुने गरी वार्षिक ४ प्रतिशतसम्म ब्याजदर उपलब्ध गराएको छ। साथै, ‘राइट पेलेटर’ (Ryt PayLater) मार्फत कुनै पनि अतिरिक्त झन्झट वा ढिलासुस्ती शुल्क (Late Fees) बिना १,४९९ मलेसियाली रिङ्गेटसम्मको शून्य प्रतिशत ब्याजदरको अल्पकालीन कर्जा सुविधा दिइएको छ। भिसा (Visa) सञ्जालमा आधारित ‘राइट कार्ड’ (Ryt Card) मार्फत ग्राहकले डेबिट र क्रेडिट मोडलमा सहजै स्विच गर्न सक्नेछन् भने मलेसियाभर कुनै पनि एटीएम वा वैदेशिक कारोबार शुल्क नलाग्ने व्यवस्था गरिएको छ।
मलेसियाको केन्द्रीय बैंक (Bank Negara Malaysia) बाट पूर्ण रूपमा स्वीकृत र अनुमतिप्राप्त यस एआई बैंकमा जम्मा हुने ग्राहकको २ लाख ५० हजार रिङ्गेटसम्मको निक्षेप पीआईडीएम (PIDM) मार्फत पूर्ण रूपमा सुरक्षित रहनेछ। उच्चस्तरीय बायोमेट्रिक लगइन, डेटा इन्क्रिप्शन र वास्तविक समयको ठगी नियन्त्रण (Real-time fraud alerts) प्रणाली जडान गरिएको यस बैंकको आगमनलाई मलेसियाको आधुनिक डिजिटल बैंकिङ क्षेत्रमा एउटा ऐतिहासिक फड्कोका रूपमा हेरिएको छ।






