गोरखा / गोरखा नगरपालिका–११ स्थित बाह्रकिलो बजारमा करिब दुई दशकदेखि सामुदायिक वन क्षेत्र अतिक्रमण गरी अवैध रूपमा निर्माण गरिएका घरटहराहरू भत्काएर डिभिजन वन कार्यालय गोरखाले वृक्षरोपण तथा तारबार गरेको छ। बारपाक सडकको मुख्य प्रवेशद्वारका रूपमा रहेको बाह्रकिलो बजारमा ओख्ले पाखा सामुदायिक वनको जग्गा अतिक्रमण गरी ३० भन्दा बढी अस्थायी टहरा निर्माण गरेर व्यापार व्यवसाय सञ्चालन हुँदै आएको थियो। वन कार्यालयले अतिक्रमित संरचना हटाई उक्त खाली गराइएको जग्गाभित्र घेराबार गरी पुनः वन क्षेत्र कायम गर्न बृहत् वृक्षरोपण गरेको हो।
डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदनमोहन शान्डिलयका अनुसार वन क्षेत्र खाली गराइएको ओख्ले पाखा सामुदायिक वनको जग्गामा कल्की, गुलमोहर, अम्बा, बकाइनो, पारिजात, चाँप, बीरेन्द्र फूल, र लप्सी लगायतका विभिन्न प्रजातिका हजारौँ बिरुवाहरू रोपिएको छ। वन क्षेत्र खाली गर्न अवरोध गर्ने व्यक्ति वा संस्थामाथि वन ऐन, २०७६ बमोजिम कडा कानुनी कारबाही गरिने चेतावनी दिएपछि अतिक्रमणकारीहरू कब्जा गरिएका घरटहरा छाड्न बाध्य भएका थिए।
दुई दशकदेखि अतिक्रमित संरचना हटाउन पटक-पटक सार्वजनिक आग्रह गरिएको र यस पटक कानुनी शासन कायम गर्न कडाइका साथ निर्णय कार्यान्वयन गरिएपछि बाह्रकिलो बजारलाई थप व्यवस्थित बनाउन सहयोग पुगेको छ। करिब २० वर्षदेखि कब्जा गरिएको वन क्षेत्रलाई सहज रूपमा खाली गराई वृक्षरोपण र संरक्षणको दायरामा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने गोरखा नगरपालिका, डिभिजन वन कार्यालय, र ओख्ले पाखा सामुदायिक वन उपभोक्ता समूहप्रति स्थानीय नागरिकहरूले हार्दिक आभार व्यक्त गरेका छन्।






