काठमाडौँ / नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘जेनजी प्रदर्शनका घाइतेहरूको वर्गीकरण सम्बन्धी कार्यविधि, २०८२’ बमोजिम आन्दोलनका क्रममा घाइते भई हालसम्म वर्गीकरण हुन छुट्नुभएका व्यक्तिहरूलाई यथाशीघ्र सम्पर्कमा आउन सार्वजनिक अनुरोध गरेको छ। मन्त्रालयले सिंहदरबारबाट सूचना जारी गर्दै वर्गीकरण प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउन छुट भएका सबै घाइतेहरूलाई आवश्यक कागजातसहित सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा सरकारी अस्पतालमा सम्पर्क गरी प्रक्रिया सम्पन्न गर्न अपिल गरेको हो।
मन्त्रालयका अनुसार कार्यविधि बमोजिम प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी (CDO) को संयोजकत्वमा उच्चस्तरीय ‘जिल्ला स्तरीय वर्गीकरण सहजीकरण समिति’ गठन भई सिफारिस तथा वर्गीकरणको कार्य सम्पादन भइरहेको छ। उक्त समितिमा जिल्ला समन्वय समितिका अधिकृतस्तर प्रतिनिधि, अस्पताल प्रमुख वा मेडिकल सुपरिन्टेन्डेन्ट, मेसुले तोकेका दुई जना विशेषज्ञ चिकित्सक, जिल्ला प्रहरी कार्यालयका अधिकृतस्तर प्रतिनिधि, र स्वास्थ्य कार्यालयका प्रमुख सदस्यका रूपमा रहेका छन् भने जिल्ला प्रशासन कार्यालयका अधिकृतस्तर प्रतिनिधिले सदस्य-सचिवको जिम्मेवारी सम्हालेका छन्।
वर्गीकरण कार्यमा आवश्यक सहजीकरण तथा समन्वयका लागि मन्त्रालयले देशभरका सबै अस्पतालहरूलाई परिपत्र जारी गरिसकेको छ। कुनै स्वास्थ्य संस्थाले औपचारिक परिपत्र प्राप्त नगरेको भए पनि यसै सार्वजनिक सूचनालाई आधार मानेर तत्काल सहजीकरण र समन्वय गर्न मन्त्रालयले निर्देशन दिएको छ। साथै, वर्गीकरण कार्यको प्रभावकारी कार्यान्वयनका लागि गृह मन्त्रालयमार्फत सबै जिल्ला प्रशासन कार्यालयहरूलाई आवश्यक समन्वयका लागि परिपत्र भइसकेकाले छुट भएका घाइतेहरूलाई अविलम्ब प्रक्रियामा सहभागी हुन मन्त्रालयले अनुरोध गरेको छ।






