काठमाडौँ / काठमाडौँ उपत्यकामा हरियो तरकारीको मूल्य अत्यधिक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो साताको तुलनामा यस वर्ष साउनको पहिलो साता तरकारीको भाउ पाँच गुणासम्मले वृद्धि भएको हो। समितिको तथ्याङ्क अनुसार समीक्षा अवधिमा सबैभन्दा धेरै तनेबोडीको मूल्य बढेको छ भने त्यसपछि तितेकरेला, भन्टा, घिउ सिमी, र साग लगायतका हरियो तरकारीको मूल्यसमेत गत वर्षको तुलनामा उल्लेख्य रूपमा महँगिएको छ।
तरकारीको माग उच्च रहेको समयमा आपूर्ति र आयात दुवै घटेकाले बजारमा भाउ बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठले बताउनुभएको छ। नियमित रूपमा आउनुपर्ने तरकारी बजारमा समयमै पुग्न नसक्दा बाटोमै बिग्रिएर फाल्नुपर्ने बाध्यताले गर्दा पनि थोक तथा खुद्रा मूल्यमा चाप परेको उहाँको भनाइ छ। यस्तै, कालीमाटीका थोक व्यापारी गीताप्रसाद आचार्यका अनुसार उपत्यकामा धेरै तरकारी भित्रिने चितवन, मकवानपुर लगायत तराईका जिल्लाहरूमा धान रोपाइँको सिजन सुरु भएसँगै त्यताबाट तरकारी आउन छोडेकाले मूल्य लगातार बढिरहेको छ। ती क्षेत्रमा तत्काल नयाँ तरकारी उत्पादन नहुने भएकाले आगामी असोज वा कात्तिकसम्म नै बजारमा तरकारीको मूल्य उच्च रहने उहाँले जानकारी दिनुभयो। हाल कालीमाटी बजारमा मुख्य गरी धादिङ, मकवानपुर, काभ्रे, नुवाकोट, भक्तपुर, ललितपुर र काठमाडौँका आसपासका क्षेत्रबाट मात्रै तरकारी आपूर्ति भइरहेको समितिले जनाएको छ।






