वीरगन्ज नाकाबाट रासायनिक मल भित्रिन सुरु: साउन अन्तिमसम्ममा ठुलो परिमाणमा डिएपी र युरिया आइपुग्ने
शिक्षाखबर डेस्क
३ घण्टा अगाडि
no immg

वीरगन्ज / फागुन महिनायता ठप्प रहेको वीरगन्ज नाकाबाट चार महिनापछि पुनः रासायनिक मल आयात सुरु भएको छ। वीरगन्ज भन्सार कार्यालयको सिर्सिया नाका हुँदै रेलवेमार्फत बिहीबार साँझदेखि रासायनिक मल भित्रिन थालेको हो। कृषि सामग्री कम्पनीको प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख दुर्गाप्रसाद पाण्डेका अनुसार ३० हजार मेट्रिक टन मल आपूर्तिको टेन्डर पाएको भारतको आईपीएल (IPL) कम्पनीले तेस्रो मुलुकबाट खरिद गरी ल्याएको डिएपी (DAP) मल वीरगन्ज नाका भएर भित्रिन थालेको हो।

बिहीबार साँझ कृषि सामग्री कम्पनीको २५ हजार बोरा (१ हजार २५० मेट्रिक टन) डिएपी मल र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ५० हजार बोरा (२ हजार ५ सय मेट्रिक टन) डिएपी मल वीरगन्ज आइपुगेको छ। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड वीरगन्ज शाखाका प्रमुख अमोज लामिछानेका अनुसार आईपीएल कम्पनीले पठाउन लागेको कुल ३० हजार मेट्रिक टनमध्ये २५ सय मेट्रिक टन बिहीबार आइपुगेको र बाँकी परिमाण आगामी दुई/तीन दिनभित्रमा नेपाल भित्रिसक्नेछ।

यसैगरी, भारतको आईपीएल कम्पनीले तेस्रो मुलुकबाट खरिद गरेको ३० हजार मेट्रिक टन युरिया र आदित्य बिरला कम्पनीले ओमान तथा कतारबाट आयात गरेको ६० हजार मेट्रिक टन युरिया मल एक हप्ताअघि नै भारतको कोलकाता बन्दरगाहमा आइपुगिसकेको कृषि सामग्री कम्पनीका प्रमुख पाण्डेले जानकारी दिनुभयो। कोलकाता बन्दरगाहमा बोरा प्याकिङ भइरहेकाले उक्त युरिया मल साउन अन्तिम हप्तादेखि भदौ पहिलो हप्ताभित्र नेपाल आइपुग्नेछ। साथै, जिटुजी (G2G) सम्झौता अन्तर्गतको ३० हजार मेट्रिक टन डिएपी र २० हजार मेट्रिक टन युरिया मलसमेत भित्रिने क्रममा रहेको छ। उता, सन इन्टरनेसनलले उपलब्ध गराउने ३० हजार मेट्रिक टन युरिया मल पनि कोलकाता आइपुगिसकेकाले भदौ पहिलो सातासम्ममा नेपाल भित्रिसक्ने साल्ट ट्रेडिङले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर
भर्खरै