नयाँ दिल्ली / भारतमा चिकित्सा शिक्षाको प्रवेश परीक्षामा बारम्बार हुने प्रश्नपत्र चुहावट (Paper Leak) र शैक्षिक धाँधलीको विरोधमा आन्दोलन गरिरहेको युवा नेतृत्वको ‘कक्रोच जनता पार्टी’ (CJP) का दुई मुख्य मागप्रति भारत सरकार सकारात्मक भएको छ। सीजेपीका प्रवक्ताहरू आशुतोष राङ्का र सौरभ दासले केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र जितेन्द्र सिंहसँग गरेको उच्चस्तरीय वार्ताका क्रममा सरकारले सकारात्मक सङ्केत दिएको हो। उक्त वार्तामा प्रवेश परीक्षाकै धाँधली र मानसिक तनावका कारण आत्महत्या गरेका विद्यार्थीहरूका परिवारलाई उचित क्षतिपूर्ति दिने तथा आन्दोलनकारी विद्यार्थीहरूमाथि लगाइएका मुद्दा फिर्ता लिँदै कुनै पनि कानुनी कारबाही नगर्ने विषयमा सैद्धान्तिक सहमति जुटेको छ।
तथापि, आन्दोलनकारीहरूले प्रमुख सर्तका रूपमा अघि सार्दै आएको केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाका विषयमा भने अझै अन्तिम निर्णय हुन बाँकी रहेको छ। शिक्षामन्त्री प्रधानको राजीनामाबारे निर्णय लिन सरकारले आज दिउँसोसम्मको समय माग गरेको सीजेपीका प्रवक्ता आशुतोषले जानकारी दिनुभएको छ। चिकित्सा परीक्षामा हुने प्रश्नपत्र चुहावट रोक्न शिक्षा क्षेत्रमा व्यापक सुधारको माग गर्दै र शिक्षामन्त्रीको पदत्यागको अडानसहित सीजेपीले भारतव्यापी आन्दोलनको नेतृत्व गरिरहेको छ। यदि मन्त्री प्रधानलाई हटाउन ढिलाइ गरिए आन्दोलनलाई थप सशक्त र कडा बनाइने चेतावनी सीजेपीले दिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
यसैबिच, सीजेपीको यस ऐतिहासिक विद्यार्थी आन्दोलनको समर्थनमा उत्रिनुभएका प्रमुख वातावरणविद् तथा अभियन्ता सोनम वाङ्चुकले बिहीबार २६ औँ दिनमा आफ्नो अनशन स्थगित गर्नुभएको छ। सरकारले शान्तिपूर्ण प्रदर्शनकारीहरूमाथि कुनै पनि धरपकड र कारबाही नगर्ने औपचारिक आश्वासन दिएकाले अनशन स्थगित गरिएको वाङ्चुकले बताउनुभयो। परीक्षा प्रणालीमा निरन्तर हुने प्रश्नपत्र ‘लिक’ का विरुद्ध उत्पन्न जनआक्रोशबाट उदय भएको युवा नेतृत्वको कक्रोच जनता पार्टीमा लाखौँको सङ्ख्यामा विद्यार्थीहरू एकजुट भएपछि प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकार ठुलो दबाबमा परेको छ। यो आन्दोलन भारतमा केही वर्षयताकै सबैभन्दा ठुलो र प्रभावकारी विद्यार्थी आन्दोलनका रूपमा स्थापित भएको छ।






