काठमाडौँ । नेपाल फार्मेसी परिषद्ले गत चैत महिनामै नाम दर्ता (लाइसेन्स) परीक्षाको फारम खुलाए पनि परिषद्मा पदाधिकारीविहीनताको स्थिति उत्पन्न हुँदा हालसम्म परीक्षा सञ्चालन हुन सकेको छैन। परिषद्ले ३१औँ नाम दर्ता परीक्षाका लागि २०८२ चैत १४ गतेदेखि २०८३ वैशाख २१ गतेसम्म अनलाइन आवेदन फारम सङ्कलन गरेको थियो। तर, परीक्षाको मिति र तालिका घोषणा हुनुपर्ने समयमा परिषद्का पदाधिकारीहरू पदमुक्त भएपछि परीक्षा प्रक्रिया पूर्ण रूपमा ठप्प बनेको छ। यसका कारण स्नातक (B.Pharm) र डिप्लोमा (D.Pharm) तह उत्तीर्ण गरी लाइसेन्सको पर्खाइमा रहेका हजारौँ युवा फर्मासिष्ट तथा फार्मेसी सहायकहरू पेसागत प्रमाणपत्र प्राप्त गर्न नसकेर बेरोजगार बन्न बाध्य भएका छन्।
सार्वजनिक पदाधिकारीको पदपूर्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ को दफा २ को उपदफा १ बमोजिम नेपाल फार्मेसी परिषद् ऐन, २०५३ का विभिन्न खण्डअनुसार बहाल रहेका सदस्यहरू गत २०८३ वैशाख १९ गतेदेखि लागू हुने गरी स्वतः पदमुक्त भएका थिए। सोही स्थितिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णयअनुसार परिषद्को दैनिक प्रशासनिक कामकाज सञ्चालन गर्न निमित्त रजिस्ट्रार तोकिएको भए पनि नाम दर्ता परीक्षा र नतिजा प्रकाशन जस्ता वैधानिक निर्णयहरू परिषद्को बैठकबाट पारित हुनुपर्ने कानुनी बाध्यता रहेको छ। परिषद्मा कूल १० जना सदस्य रहने व्यवस्था भए पनि हाल ३ जना मात्र बाँकी रहेकाले ऐनको परिच्छेद २ को दफा १० को उपदफा ३ बमोजिम कोरम नपुगी बैठकले वैधानिकता नपाउने भएकाले परीक्षा स्थगित गरिएको हो।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले २०८३ जेठ २० गते परिषद्को अध्यक्ष, सदस्य तथा रजिस्ट्रारको पदपूर्तिका लागि औपचारिक सूचना आह्वान गरिसकेको छ। निमित्त रजिस्ट्रार उषा तण्डुकारद्वारा जारी सूचनामा सरकारबाट पूर्ण परिषद् गठन भई कार्यभार सम्हालेपछि मात्र ३१औँ नाम दर्ता परीक्षाको मिति तय गरिने स्पष्ट पारिएको छ। यता, अध्ययन पूरा गरेर पनि लाइसेन्स परीक्षा समयमा हुन नसक्दा अस्पताल, औषधि उद्योग, अनुसन्धान केन्द्र तथा सामुदायिक फार्मेसीहरूमा काम गर्ने बाटो बन्द भएपछि पीडित विद्यार्थीहरूले मन्त्रालय र सरकारसँग तत्काल नयाँ पदाधिकारी नियुक्त गरी रोकिएको परीक्षा सुचारु गर्न जोडदार माग गरेका छन्।






