त्रिवि एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै बाहिरियो: स्ववियुद्वारा छानबिन र राजीनामाको माग
शिक्षाखबर डेस्क
१ घण्टा अगाडि
no immg

काठमाडौँ / त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकाय अन्तर्गत एमबीएस (MBS) प्रथम वर्षको प्रथम सेमेष्टरको परीक्षा सुरु भएको केही मिनेटभित्रै प्रश्नपत्र सामाजिक सञ्जालमा बाहिरिएको घटना सार्वजनिक भएको छ। गत बिहीबार अपराह्न १२ बजेदेखि ४ बजेसम्म देशभरका विभिन्न क्याम्पसहरूमा सञ्चालन भएको परीक्षाको प्रश्नपत्र सुरु भएको ६ मिनेटमै (१२ बजेर ६ मिनेटमा) विभिन्न ह्वाट्सएप ग्रुप तथा सामाजिक सञ्जालमा सार्वजनिक भएको प्रमाण फेला परेको हो। सामान्यतया परीक्षा सुरु हुनुअघि केन्द्राध्यक्षको रोहवरमा शिलबन्दी खोलेर विद्यार्थीहरूलाई वितरण गरिने प्रश्नपत्र केही कलेजहरूको लापरबाहीका कारण परीक्षा हलभित्रैबाट बाहिर पठाइएको विद्यार्थीहरूको आरोप छ।

प्रश्नपत्र लिक भएको घटनाप्रति आपत्ति जनाउँदै त्रिवि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले व्यवस्थापन संकायको गम्भीर ध्यानाकर्षण गराएको छ। स्ववियु सभापति दीपक राज जोशीले परीक्षा सञ्चालन भइरहेकै समयमा प्रश्नपत्र बाहिरिनुले विश्वविद्यालयको परीक्षा प्रणालीको गोपनीयता, निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा गरेको बताउनुभएको छ। उहाँले दुई दिनभित्र घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गर्नुभएको छ। यदि छानबिन गरी दोषीलाई कारबाही गर्न नसकेमा व्यवस्थापन संकायका डिन र परीक्षा हेर्ने सहायक डिनले नैतिक जिम्मेवारी लिँदै तत्काल राजीनामा दिनुपर्ने स्ववियुको अडान छ।

यता, त्रिवि व्यवस्थापन संकायका डिन प्रा. डा. महानन्द चालिसेले भने प्रश्नपत्र परीक्षा अगावै ‘लिक’ भएको नभई परीक्षा सुरु भइसकेपछि हलभित्र पुगेका कुनै विद्यार्थीले मोबाइलमार्फत ह्वाट्सएपमा पठाएको दाबी गर्नुभएको छ। उहाँका अनुसार परीक्षा भइसकेपछि र हलमा प्रश्नपत्र वितरण भइसकेपछि मात्रै सामाजिक सञ्जालमा देखिएकाले यस विषयमा छानबिन गर्न परीक्षा समितिको बैठक बोलाएर छानबिन समिति गठन गर्ने तयारी भइरहेको छ। घटना कुन क्याम्पस वा परीक्षा केन्द्रमा घटेको हो भन्नेबारे अहिलेसम्म यकिन नभएकाले छानबिनपछि सत्यतथ्य सार्वजनिक गरिने डिन चालिसेले जानकारी दिनुभएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर
भर्खरै