डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्रीका सल्लाहकारसहितको टोली धनगढीमा: आजै संवादको तयारी
शिक्षाखबर डेस्क
१ घण्टा अगाडि
no immg

काठमाडौँ / धनगढीमा सत्याग्रह गरिरहनुभएका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँग वार्ता गरी सहमतिपूर्ण निकास खोज्न सरकारले उच्चस्तरीय वार्ता टोली परिचालन गरेको छ। प्रधानमन्त्री बालेन शाहका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा बुद्ध एयरको जहाजमार्फत आइतबार धनगढी पुग्नुभएको छ। यसअघि नै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको निर्देशनमा शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेल शनिबार धनगढी पुगिसक्नुभएको छ।

शिक्षामन्त्री पोखरेलले शुक्रबार साँझ डा. केसीसँग टेलिफोन संवाद गर्नुभएपछि सरकारले वार्तामार्फत अनशनको समाधान खोज्ने निर्णय गर्दै उच्चपदस्थ अधिकारीहरूलाई धनगढी पठाएको हो। धनगढी पुगेको सरकारी टोलीले आजै डा. केसीका प्रतिनिधिहरूसँग औपचारिक वार्ता गर्ने तयारी गरेको छ। उता, अनशनका क्रममा स्वास्थ्यमा थप समस्या देखिएपछि चिकित्सकको सल्लाहअनुसार डा. केसीलाई शनिबारदेखि नै सेती प्रादेशिक अस्पतालमा राखेर उपचार र स्वास्थ्य निगरानी भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर