३६ दिनसम्म चलेको यो आन्दोलन क्रममा सामाजिक अभियानी सोनम वाङचुक र कम्तिमा ३ जना विद्यार्थीले भोक हड्ताल गरेका थिए। वाङचुकलाई जबर्जस्ती अनसन स्थलबाट हटाइएको थियो। जुलाई २० मा प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रयोग गरेर विद्यार्थी आन्दोलन दबाउन खोजेको थियो। त्यस क्रममा १०० जनाभन्दा बढी प्रदर्शनकारी र त्यति नै प्रहरी घाइते भएका थिए। सरकारले सूचना प्रवाहमा रोक लगाउन दिल्लीका मुख्य भागहरूमा इन्टरनेट सेवा बन्द गरेको थियो भने प्रदर्शनकारीहरूको आवागमनमा बाधा पुर्याउन कम्तिमा १८ वटा मेट्रो स्टेसन बन्द गरिएका थिए।
केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले ‘एक्स’ (ट्विटर) मा आफ्नो राजीनामा पोस्ट गर्नु केही मिनेटअघिसम्म पनि संसद मार्गमा लाठीचार्ज र अश्रुग्यास प्रहारका घटना भइरहेका थिए।
दिउँसो १:५६ बजे टोलस्टोय मार्गको प्रवेशद्वार नजिकै रहेको जन्तर-मन्तर आन्दोलन स्थलअगाडि प्रहरी बुथको झ्यालका सिसाहरू केही प्रदर्शनकारीले फोडेपछि अश्रुग्यास प्रहार गरिएको थियो। दिउँसो २:०५ बजे प्रहरीले अर्को पटक अश्रुग्यास प्रहार गरे। प्रदर्शनकारीहरूले गरेको ढुंगामुढाबाट पाँच जना प्रहरी घाइते भएको हिन्दुस्तान टाइम्सले लेखेको छ।
प्रधानको राजीनामापछि कक्रोच जनता पार्टी (सिजेपी) को प्रतिनिधिमण्डलले केन्द्रीय मन्त्रीहरूसँग बैठक गरेका थिए। त्यसपछि आन्दोलनका संस्थापक ३० वर्षीय अभिजीत दिप्केले भने, ‘यो ठूलो जीत हो। यसले देश संविधान अनुसार चल्छ भन्ने देखाउँछ। तर यो केवल सुरूआत मात्र हो… म भारतका प्रधानन्यायाधीश सूर्य कान्तलाई धन्यवाद दिन चाहन्छु। हामीलाई साङ्लो भनिदिनुभएकोमा उहाँलाई धन्यवाद। यदि उहाँले त्यसो नभन्नुभएको भए, म भारत आउने थिइनँ र यो आन्दोलन सुरू हुने थिएन।’






