काठमाडौँ । नेपाल सरकारको छात्रवृत्तिमा चिकित्साशास्त्र अध्ययन पूरा गरी ‘चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन निर्देशिका, २०७१’ बमोजिम औषधि व्यवस्था विभागमा कार्यरत फार्मेसी अधिकृतहरूले आफूहरूले पाउनुपर्ने महङ्गी भत्ता र वार्षिक पोशाक भत्ता कटौती गरिएको भन्दै विभागका महानिर्देशकसमक्ष निवेदन पेस गरेका छन्। निर्देशिकाको दफा ७ (१) अनुसार तोकिएबमोजिम करार सेवामा विभिन्न प्रदेशका कार्यालयहरूमा कार्यरत रही सेवा दिइरहेका अधिकृतहरूले दफा १३ (३) बमोजिम नियमित मासिक तलब-भत्ता प्राप्त गर्दै आएकोमा २०८२ वैशाख १ गतेदेखि लागू हुने गरी ती सुविधाहरू रोकिँदा आर्थिक मारमा परेको जनाएका छन्।
भत्ता पाउनबाट वञ्चित अधिकृतहरू अमन कुमार साह, अभिल गौतम, सम्झना सिन्ताकल, सुरक्षा भण्डारी, सोबित पौडेल, हरि खनाल र गोबिन्द साहले संयुक्त रूपमा हस्ताक्षरित निवेदन पेस गर्दै कानुन बमोजिम पाउनुपर्ने महङ्गी भत्ता तथा पोशाक भत्ता तत्काल उपलब्ध गराउन आग्रह गरेका छन्। सो सम्बन्धमा आवश्यक पहल र समन्वयका लागि अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र स्वास्थ्य सेवा विभाग टेकुलाई समेत बोधार्थ दिइएको छ। स्वास्थ्यकर्मीहरूलाई प्रोत्साहन गर्नुको सट्टा पाउनुपर्ने नियमानुसारका सुविधाहरू कटौती गर्दा कार्यसम्पादनमा असर पर्ने भन्दै उनीहरूले समस्याको द्रुत समाधानको अपेक्षा गरेका छन्।






