त्रिवि एमबिएस प्रश्नपत्र बाहिरिएको घटनामा केही व्यक्ति पक्राउ: सिआइबीद्वारा अनुसन्धान सुरु, छानबिन समिति गठन
शिक्षाखबर डेस्क
१० श्रावण २०८३, आईतवार
no immg

काठमाडौँ / त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकाय अन्तर्गत ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबिएस) प्रथम सेमेस्टरको प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको कडा निर्देशनपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उनीहरूलाई आइतबार बिहान पक्राउ गरी कानुनी अनुसन्धान प्रक्रिया तीव्र पारेको हो। यही साउन ८ गते सञ्चालित स्नातकोत्तर तहको ‘अर्गनाइजेसनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको केही मिनेटभित्रै सामाजिक सञ्जालमार्फत प्रश्नपत्र बाहिरिएपछि त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय डिनको कार्यालयले पनि सूक्ष्म अनुसन्धान र कारबाहीका लागि प्रहरीको ‘साइबर ब्यूरो’ लाई औपचारिक पत्राचार गरेको थियो।

प्रश्नपत्र बाहिरिएपछि त्रिवि परीक्षा नियन्त्रण महाशाखाले पनि घटनाको सत्यतथ्य छानबिन गर्न प्रा. डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ। गठित छानबिन समितिको सदस्यहरूमा त्रिवि अनुगमन निर्देशनालयका उपनिर्देशक सहप्राध्यापक पुष्कर रैखला र केन्द्रीय परीक्षा सञ्चालक समितिका सदस्य सहप्राध्यापक महेशराज ओझा रहनुभएको छ। समितिलाई घटनाबारे निष्पक्ष अध्ययन गरी सात कार्यदिनभित्र स्पष्ट प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर