त्रिवि एमबीएस प्रश्नपत्र लिक प्रकरण: कैलालीका ३३ वर्षीय सन्दिप सिंह पक्राउ, शिक्षा ऐनअन्तर्गत अनुसन्धान जारी
शिक्षाखबर डेस्क
१० श्रावण २०८३, आईतवार
no immg

काठमाडौँ / त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकाय अन्तर्गत ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबिएस) प्रथम सेमेस्टरको प्रश्नपत्र सामाजिक सञ्जालमार्फत लिक गर्ने मुख्य व्यक्ति कैलालीका सन्दिप सिंह रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। कैलालीको घोडाघोडी नगरपालिका–११ घर भई हाल भक्तपुर बस्दै आएका ३३ वर्षीय सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) अनुपम शमशेर जबराले पुष्टि गर्नुभएको छ। गत साउन ८ गते सञ्चालित स्नातकोत्तर तहको ‘अर्गनाइजेसनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको केही मिनेटभित्रै ह्वाट्सएप (WhatsApp) मार्फत प्रश्नपत्र बाहिरिएपछि सीआईबी र साइबर ब्यूरोको संयुक्त टोलीले सूक्ष्म अनुसन्धान थालेको थियो।

यसअघि प्रश्नपत्र बाहिरिएको घटनामा संलग्न रहेको आशङ्कामा दुई जनालाई नियन्त्रणमा लिइएको भए पनि अनुसन्धानका क्रममा एक जनाको कुनै संलग्नता नदेखिएपछि उनलाई रिहा गरिएको साइबर ब्यूरोका अधिकारीहरूले जनाएका छन्। पक्राउ परेका मुख्य आरोपी सिंहविरुद्ध शिक्षा ऐन, २०२८ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अघि बढाइएको एसएसपी जबराले जानकारी दिनुभएको छ। त्रिविको परीक्षा प्रणालीको गोपनीयता र निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको यस घटनाबारे सीआईबीको मातहतमा रहेको साइबर ब्यूरोले थप गहिरो अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर