धनुषाधाम वनस्पति उद्यानको नक्षत्र वाटिकामा वृक्षरोपण सुरु: २७६ वनस्पति प्रजातिको संरक्षण र अध्ययन केन्द्रका रूपमा विकास
शिक्षाखबर डेस्क
११ श्रावण २०८३, सोमबार
no immg

जनकपुरधाम / मधेस प्रदेशकै प्रमुख पर्यटकीय तथा शैक्षिक गन्तव्यका रूपमा विकसित हुँदै गएको धनुषाधाम वनस्पति उद्यानभित्र निर्मित ‘नक्षत्र वाटिका’ मा नक्षत्र, राशि र ग्रह अनुसारका बिरुवा रोप्ने कार्य औपचारिक रूपमा सुरु भएको छ। मधेस प्रदेश सरकारको आठ लाख रुपियाँ लागतमा आर्थिक वर्ष २०८२/८३ मा निर्माण गरिएको उक्त वाटिकामा २७ वटा नक्षत्र, १२ वटा राशि र नौ वटा ग्रहसँग सम्बन्धित विभिन्न प्रजातिका बिरुवाहरू रोप्ने लक्ष्य राखिएको छ। सङ्घीय सरकारका कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र मधेस प्रदेशका वन तथा वातावरणमन्त्री शङ्करप्रसाद चौधरीले संयुक्त रूपमा राशि अनुसारका बिरुवा रोपेर सो अभियानको शुभारम्भ गर्नुभएको उद्यानका प्रमुख मो. ताहिर हुसेनले जानकारी दिनुभयो।

विसं २०५६ मा स्थापना भई जनकपुरधामबाट करिब १८ किलोमिटर पूर्वमा रहेको करिब १२० हेक्टर क्षेत्रफलमा फैलिएको यस वनस्पति उद्यानभित्र धार्मिक वाटिका, नक्षत्र वाटिका, जडीबुटी शैक्षिक वाटिका, जल उद्यान, धनुष वाटिका, फूल उद्यान र ट्याक्सोनोमिकल फेमिली वाटिकालगायतका विभिन्न संरचनाहरू निर्माण गरिएका छन्। उद्यान प्रमुख हुसेनका अनुसार हाल यस उद्यानमा ७४ प्रकारका रूख, ४८ बुट्यान, १३४ झारपात र २० लहरे प्रजाति गरी कुल २७६ प्रजातिका वनस्पतिहरूको संरक्षण गरिएको छ। अध्ययन र अवलोकनका लागि आउने विद्यार्थी तथा अनुसन्धानकर्ताहरूका लागि सूचना केन्द्रका साथै सुगन्धित जडीबुटी तथा वनस्पतिको तेलको प्रतिशत मापन गर्न आधुनिक केमेस्ट्री ल्याबसमेत स्थापना गरिएको छ। संरक्षण, वैज्ञानिक अनुसन्धान र वातावरणीय शिक्षाको उद्देश्यले स्थापना गरिएको यो उद्यान पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरूको मुख्य आकर्षणको केन्द्र बन्दै गएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर
भर्खरै