डिभिजन वन कार्यालय सप्तरीद्वारा ४ लाख ५० हजार बिरुवा निःशुल्क वितरण: रक्तमाला सामुदायिक वन बन्यो पर्यटकीय गन्तव्य
शिक्षाखबर डेस्क
११ श्रावण २०८३, सोमबार
no immg

राजविराज / डिभिजन वन कार्यालय सप्तरीले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न बहुउपयोगी प्रजातिका चार लाख ५० हजार थान बिरुवा उत्पादन गरी स्थानीय सर्वसाधारण तथा सार्वजनिक निकायहरूलाई निःशुल्क वितरण गरेको छ। वन व्यवस्थापन, जैविक विविधता संरक्षण, जडीबुटी प्रवर्द्धन र वातावरणमैत्री उद्यमशीलता विकासलाई प्राथमिकता दिँदै कार्यालयले नदी उकास, खाली वन क्षेत्र र सार्वजनिक जग्गामा वृक्षरोपणका लागि ती बिरुवाहरू उपलब्ध गराएको डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सुभाषचन्द्र दासले जानकारी दिनुभयो। कार्यालयले अमहा वन नर्सरीबाट ७ लाख ५० हजार, तिलाठी कोइलाडीबाट ७५ हजार, दौलतपुरबाट २ लाख, रुपनीबाट ५० हजार र कञ्चनपुर नर्सरीबाट १ लाख बिरुवा उत्पादन गर्नुका साथै राजविराजस्थित मुख्य कार्यालय र अग्निसाइर, कल्याणपुर, शम्भुनाथ तथा डाक्नेश्वरी सब-डिभिजनहरूमार्फत व्यापक वृक्षरोपण अभियान सञ्चालन गरेको छ।

सामुदायिक वनलाई केवल काठ-दाउरामा सीमित नराखी स्थानीय उत्पादन र आन्तरिक पर्यटनसँग जोड्ने नीतिअनुसार डिभिजन वन कार्यालयको सहयोगमा सप्तकोशी नगरपालिका–१ स्थित रक्तमाला सामुदायिक वनलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा रूपान्तरण गरिएको छ। वन उपभोक्ता समितिका अध्यक्ष इन्द्रप्रसाद लुइटेलका अनुसार वन क्षेत्रभित्र वाटर पार्क, पिकनिक स्पट, बोटिङ, ट्री हाउस, पोखरी, मिनी चिडियाखाना र चमेनागृहजस्ता भौतिक पूर्वाधारहरू निर्माण गरिएपछि पर्यटकको आगमनमा उल्लेख्य वृद्धि हुनुका साथै वनको आम्दानी बढेर स्थानीयस्तरमै रोजगारीका नयाँ अवसरहरू सिर्जना भएका छन्। कुल १ लाख २८ हजार १ सय हेक्टर क्षेत्रफल रहेको सप्तरी जिल्लामा २१ हजार १ सय ३६ हेक्टर वन क्षेत्र फैलिएको छ, जसमध्ये १३६ वटा सामुदायिक वनहरू क्रियाशील रहेका छन्।

प्रतिक्रिया
सम्बन्धित खबर