काठमाडौँ / पर्साको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि उत्पन्न तनाव, अस्पतालमा भएको तोडफोड र कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमणको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले आइतबार एक विज्ञप्ति जारी गर्दै मृतकप्रति गहिरो दुःख व्यक्त गर्नुका साथै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ। मन्त्रालयले अस्पतालको अति संवेदनशील सेवा प्रभावित हुन नदिन सबै पक्षलाई संयमित भई स्वास्थ्य सेवा सुचारु राख्न सहयोगका लागि हार्दिक अनुरोध गरेको छ।
स्वास्थ्यकर्मीमाथि हुने जुनसुकै प्रकारका हिंसात्मक घटनाहरूप्रति मन्त्रालयको ‘शून्य सहनशीलता’ (Zero Tolerance) को नीति रहेको पुनः दोहोर्याउँदै मन्त्रालयले बिरामीको उपचारका क्रममा कुनै त्रुटि भएको भए प्रचलित कानुनी प्रक्रिया बमोजिम निष्पक्ष छानबिन र न्यायको स्पष्ट व्यवस्था रहेको उल्लेख गरेको छ। स्थानीय प्रशासनलाई घटनामा संलग्न दोषीहरूको तत्काल पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन निर्देशन दिँदै मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई निर्भयताका साथ उच्च मनोबलका साथ निरन्तर सेवा प्रवाह गर्ने वातावरण निर्माण गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।






