जनकपुरधाम / शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेश प्रदेशको ऐतिहासिक रामस्वरूप रामसागर बहुमुखी क्याम्पसको निरीक्षण गर्दै शिक्षा क्षेत्रमा समयसापेक्ष संरचनागत सुधार र गुणस्तरीय शिक्षण सिकाइ अनिवार्य रहेको बताउनुभएको छ। क्याम्पसका प्राध्यापक तथा पदाधिकारीहरूसँगको छलफलका क्रममा मन्त्री पोखरेलले पुरानो क्याम्पसमा थुप्रै समस्याहरू हुनु स्वाभाविक भए पनि समयको माग अनुसार पठनपाठनमा गुणात्मक सुधार ल्याउन र परीक्षाका क्रममा हुने अमर्यादित गतिविधिहरूलाई पूर्ण रूपमा रोक्न कडा निर्देशन दिनुभयो। क्याम्पसको जिर्ण भौतिक संरचनाको मर्मत सम्भार तथा सुधारका लागि तत्काल प्रस्ताव तयार गरी मन्त्रालयमा पठाउन निर्देशन दिँदै उहाँले मन्त्रालयका तर्फबाट आवश्यक आर्थिक तथा प्रशासनिक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।
निरीक्षणका क्रममा मन्त्री पोखरेलले क्याम्पसको आर्थिक पारदर्शिताका लागि बिलिङ प्रणालीलाई तत्काल अनलाइन बनाउन, परिसरभित्रको सरसफाइमा व्यापक सुधार ल्याउन र क्याम्पसको पुस्तकालयमा देखिएका समस्याहरू शीघ्र समाधान गर्न निर्देशन दिनुभयो। छलफलका क्रममा क्याम्पस प्रमुख प्रा. डा. वसन्तकुमार कर्णले क्याम्पसको वर्तमान अवस्था, भइरहेका सुधारका प्रयासहरू र भावी योजनाबारे मन्त्रीलाई विस्तृत जानकारी गराउनुभएको थियो। सोही क्रममा मन्त्री पोखरेलले अध्ययनरत विद्यार्थीहरूसँग प्रत्यक्ष संवाद गर्नुभएकोमा विद्यार्थीहरूले क्याम्पसमा खानेपानी, शौचालय, सरसफाइ र पुस्तकालयको दयनीय अवस्थाबारे गुनासो गरेका थिए। यसअघि आजै बिहान मन्त्री पोखरेलले जनकपुरधाम उपमहानगरपालिका–४ स्थित सङ्कट मोचन देवशरण रामरती माविका विद्यार्थीहरूलाई विभिन्न प्रकारका खेलकुद सामग्रीहरू हस्तान्तरण गर्नुभएको थियो।






