पोखरा / गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा प्रदेशका ११ हजार २३२ जना दुग्ध उत्पादक किसानहरूलाई प्रोत्साहन स्वरूप कुल पाँच करोड ५८ लाख रुपियाँ रकम वितरण गरेको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले दुग्ध उत्पादनमा आत्मनिर्भर बनाउने र कृषकहरूलाई व्यावसायिक पशुपालनतर्फ आकर्षित गर्ने उद्देश्यले सहकारीमार्फत उक्त अनुदान रकम उपलब्ध गराएको हो। मन्त्रालयकी वरिष्ठ पशु विकास अधिकृत डा. शोभा शर्माका अनुसार कार्यविधि अनुसार तोकिएको मापदण्ड पूरा गरेका दुग्ध सहकारी संस्थाहरूलाई छनोट गरी कृषकहरूका खातामा सीधै प्रोत्साहन रकम पठाउने व्यवस्था मिलाइएको छ।
प्रदेश सरकारले तोकेको मापदण्ड अनुसार दैनिक कम्तीमा २०० लिटर र वर्षमा कम्तीमा २०० दिन दूधको सङ्कलन तथा कारोबार गर्ने सहकारी संस्थाहरू मात्र यस कार्यक्रमका लागि योग्य हुने व्यवस्था छ। त्यस्ता सहकारीमा आर्थिक वर्षभरिमा कम्तीमा ३० दिन दूध बिक्री गर्ने किसानहरूले प्रतिलिटर पाँच रुपियाँका दरले प्रोत्साहन अनुदान प्राप्त गर्दै आएका छन्। मन्त्रालयले एउटा सहकारीलाई अधिकतम १७ लाख ५० हजार रुपियाँसम्म अनुदान सहयोग उपलब्ध गराउने गरेकोमा प्राप्त कुल रकमको चार प्रतिशत कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा खर्च गरी बाँकी ९६ प्रतिशत रकम सीधै किसानहरूलाई पारदर्शी रूपमा वितरण गर्ने गरिएको डा. शर्माले जानकारी दिनुभयो।






