काठमाडौँ । वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र पर्सा जिल्ला प्रशासन कार्यालयमा भएको दुर्व्यवहारको विरोधमा नेपाल चिकित्सक संघले मंगलबार (साउन १२ गते) देशभरका अस्पतालहरूमा आकस्मिकबाहेकका सम्पूर्ण सेवाहरू बन्द गर्ने घोषणा गरेको छ। संघले विज्ञप्ति जारी गर्दै चिकित्सक र स्वास्थ्यकर्मीहरूमाथि राज्य संयन्त्र तथा आन्दोलनकारी दुवै पक्षबाट भएको दमनको विरोधस्वरूप सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा OPD लगायतका नियमित सेवा ठप्प पारिएको जनाएको छ। संघले यसबाट बिरामीहरूमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै सम्पूर्ण अवस्थाको मुख्य जिम्मेवार नेपाल सरकार रहेको दाबी गरेको छ।
वीरगन्जको नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद राममाथि साङ्घातिक आक्रमण भई टाउकोमा गम्भीर चोट लागेको घटनाका दोषीहरूलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९) बमोजिम कडा कारबाही गर्न संघले जोडदार माग गरेको छ। साथै, सो घटनाबारे वार्ताका लागि पर्सा जिल्ला प्रशासन कार्यालय पुगेका संघका केन्द्रीय प्रतिनिधि तथा स्थानीय पदाधिकारीहरूमाथि प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा प्रहरी परिचालन गरी दुर्व्यवहार गरिएको भन्दै संघले पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखमाथि समेत कडा कारबाहीको माग अघि सारेको छ। संघले परिस्थिति निरन्तर तनावपूर्ण बन्दै गएकाले बुधबार सर्वपक्षीय भेला बोलाई आन्दोलनका थप सशक्त कार्यक्रमहरू सार्वजनिक गर्ने स्पष्ट पारेको छ।






