स्वास्थ्यकर्मी सुरक्षा समन्वय समिति पुनः सक्रिय बनाइँदै: नारायणी अस्पताल घटनापछि मन्त्रालयको द्रुत कदम
शिक्षाखबर डेस्क
१२ श्रावण २०८३, मंगलवार
no immg

काठमाडौँ/वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका–२५ का राजकुमार पटेलको शनिबार मृत्यु भएपछि उत्पन्न विवादले उग्र रूप लिँदा देशभरको स्वास्थ्य सेवा पूर्ण रूपमा प्रभावित भएको छ। घटनापछि चिकित्सक तथा स्थानीय प्रशासनबिच ठोस सहमति नजुट्दा नेपाल चिकित्सक सङ्घको आह्वानमा नारायणी अस्पतालसहित देशभरका अस्पतालहरूमा आकस्मिकबाहेकका सम्पूर्ण सेवाहरू ठप्प पारिएका छन्। सेवा अवरुद्ध भएसँगै उपचारका लागि आएका सर्वसाधारण बिरामीहरू कडा मर्कामा परेका छन्।

नेपाल चिकित्सक सङ्घ नारायणी शाखाका अध्यक्ष डा. मनोज गुप्ताका अनुसार घटनाबारे छलफल भइरहेका बेला अस्पतालका प्रमुख डा. चितरञ्जन साहको आग्रहमा चिकित्सक टोली जिल्ला प्रशासन कार्यालय पर्सा पुगेको थियो। तर वार्ताका क्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल र प्रहरी उपरीक्षक सुदीपराज पाठकले चिकित्सकहरूमाथि गालीगलौज, दुर्व्यवहार र हातपातको प्रयास गरेपछि वार्ता बिथोलिएको सङ्घको दाबी छ। चिकित्सकहरूले अस्पतालको सिसिटिभी (CCTV) फुटेज जाँच गरी आक्रमणकारी तथा दोषीहरूमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी ऐनअनुसार कडा कारबाही हुनुपर्ने अडान राखेका छन्।

यसैबिच घटनाको निष्पक्ष जाँचका लागि नेपाल मेडिकल काउन्सिलका डा. रविन बस्नेत, डा. रुबी यादव र डा. जितेन्द्र मिश्रको टोलीले सोमबार घट्नाबारे स्थलगत छानबिन गरी फर्किएको छ। अस्पताल प्रमुख डा. साहका अनुसार दोषीमाथि कानुनी कारबाही नभएको र सुरक्षित कार्य वातावरण नभएको भन्दै अस्पतालमा कार्यरत ७५ मध्ये ६८ जना चिकित्सकहरूले सामूहिक राजीनामा बुझाइसकेका छन्। आक्रमणका क्रममा टाउकोमा गम्भीर चोट लागेका डा. प्रमोद रामलाई थप उपचारका लागि सोमबार नै राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँ पठाइएको छ। यता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै मन्त्रालयले लामो समयदेखि निष्क्रिय रहेको ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समिति’ लाई पुनः सक्रिय बनाएको र दोषीमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएकाले जुनसुकै अवस्थामा पनि स्वास्थ्य सेवा अवरुद्ध नगर्न आग्रह गर्नुभएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर