कानुनी प्रक्रिया नपुर्‍याएको भन्दै बाह्रबिसेको किस्टोन अस्पतालमा सिलबन्दी: स्थानीयवासी उपचारबाट वञ्चित
शिक्षाखबर डेस्क
१३ श्रावण २०८३, बुधबार
no immg

सिन्धुपाल्चोक । आवश्यक कानुनी प्रक्रिया पूरा नगरी गैरकानुनी रूपमा सञ्चालन गरिएको भन्दै जिल्ला प्रशासन कार्यालय र जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको संयुक्त अनुगमन टोलीले बाह्रबिसेस्थित ५१ शय्याको किस्टोन हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिमा सिलबन्दी गरेको छ। साउन ८ गते गरिएको अनुगमनका क्रममा मापदण्ड विपरीत सञ्चालनमा रहेका किस्टोन अस्पतालसहित खाडीचौरस्थित सिन्धु सदाबहार अस्पताल र पराजुली हेल्थ केयर प्रालिलाई समेत सिलबन्दी गरिएको हो। २०६८ सालदेखि बाह्रबिसे नगरपालिका–४ मा निरन्तर सञ्चालनमा रहेको किस्टोन अस्पताल बन्द भएपछि त्यस क्षेत्रका स्थानीय सर्वसाधारण, सुत्केरी, ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिहरू प्रत्यक्ष रूपमा स्वास्थ्य सेवाबाट वञ्चित भई समस्यामा परेका छन्।

जनस्वास्थ्य कार्यालयका अनुसार जनस्वास्थ्य सेवा ऐन, २०७५ तथा प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ (दोस्रो संशोधन–२०८१) बमोजिम आवश्यक सञ्चालन अनुमति तथा नवीकरण नगरेकाले कानुनी कदम चालिएको हो। कार्यालयले असार ९ गते पहिलो पटक र असार १८ देखि २६ गतेसम्म अन्तिम म्याद दिएर पत्राचार गर्दा पनि अस्पताल प्रशासनले कानुनी प्रक्रिया पूरा नगरेपछि सिलबन्दी गर्नुपरेको स्पष्ट पारेको छ। स्थानीय अगुवा कृष्णगोपाल श्रेष्ठको नेतृत्वमा ४८ जना सेयर सदस्यहरूले सुरु गरेको यस अस्पतालले २०७१ को जुरे पहिरो र २०७२ को महाभूकम्पका बेला टहरामै बसेर ठुलो जनधनको स्वास्थ्य सुरक्षा गरेको थियो। अस्पतालका वर्तमान अध्यक्ष श्यामबहादुर भुजेलले सरकारी निकायहरूसँग समन्वय गरी अनुमति तथा नवीकरणका बाँकी मापदण्ड शीघ्र पूरा गरेर हस्पिटल पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिनुभएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर