वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको आकस्मिक कक्षमा भएको तोडफोड तथा चिकित्सकहरूमाथि भएको कुटपिट र साङ्घातिक आक्रमणको अनुसन्धानका क्रममा प्रहरीले वीरगञ्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीसहित तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार गत शनिबार अस्पतालमा भएको तोडफोड र कुटपिटको घटनामा संलग्नता र सोधपुछका लागि वडाध्यक्ष चतुर्वेदीका साथै अङ्कित पटेल र शैलेश पटेललाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका तीनै जनाविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिनुभयो। प्रहरीले म्याद थप गरी थप अनुसन्धान गर्न तीनै जनालाई जिल्ला प्रशासन कार्यालय पर्सामा उपस्थित गराउने तयारी गरेको छ। यसैबिच, वीरगञ्ज महानगरपालिकाको नगर परिषद् बैठकले पक्राउ परेका वडाध्यक्ष चतुर्वेदीको तत्काल रिहाइको माग गरेको छ। जननिर्वाचित प्रतिनिधिलाई पक्राउ गर्नु अन्यायपूर्ण भएको दाबी गर्दै नगर परिषद्ले वडाध्यक्ष चतुर्वेदीलाई बिनासर्त रिहा नगरिए चरणबद्ध सशक्त आन्दोलनमा उत्रिने कडा चेतावनी दिएको छ।






