नेपालमा बाघको सङ्ख्या बढेर ४२९ पुग्यो: चितवनमा सबैभन्दा धेरै १४५, बर्दियामा भने घट्यो
शिक्षाखबर डेस्क
१३ श्रावण २०८३, बुधबार
no immg

चितवन । अन्तर्राष्ट्रिय बाघ दिवसको अवसरमा साउन १३ गते सार्वजनिक गरिएको पछिल्लो राष्ट्रिय बाघ गणनाको नतिजाअनुसार नेपालमा पाटेबाघको सङ्ख्या बढेर ४२९ पुगेको छ। यसअघि २०७८ सालमा गरिएको गणनामा देशभर बाघको सङ्ख्या ३५५ रहेकोमा पछिल्लो चार वर्षको अवधिमा ७४ वटा थपिएका हुन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले अत्याधुनिक क्यामेरा ट्र्यापिङ (Camera Trapping) प्रविधिको प्रयोग गरी चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्ज तथा तिनका मध्यवर्ती क्षेत्रहरूमा यो विस्तृत सर्वेक्षण सञ्चालन गरेको थियो।

निकुञ्ज क्षेत्रगत तथ्याङ्कअनुसार चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा सबैभन्दा बढी १४५ वटा बाघ फेला परेका छन्, जहाँ अघिल्लो गणनाभन्दा १७ वटा बाघ बढेका छन्। यस्तै पर्सा राष्ट्रिय निकुञ्जमा ३० वटा थपिएर ७१, बाँके राष्ट्रिय निकुञ्जमा २६ वटा थपिएर ५१, र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १४ वटा थपिएर ५० वटा बाघ पुगेका छन्। तर, अघिल्लो गणनामा १२५ वटा बाघ रहेको बर्दिया राष्ट्रिय निकुञ्जमा भने यसपटक १३ वटाले घटेर ११२ वटामा झरेको छ। समग्रमा बाघको कुल सङ्ख्या बढे पनि वृद्धिदरमा भने कमी आएको छ; अघिल्लो गणनामा करिब ५१ प्रतिशत रहेको बाघको वृद्धिदर यसपटकको गणनामा २१ प्रतिशतमा सीमित भएको नतिजाले देखाएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर