काठमाडौँ । चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ६ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँ बराबरको वार्षिक कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न आयोगको २७औँ बैठकले उक्त बजेट सर्वसम्मतिले पारित गरेको हो। कुल स्वीकृत बजेटमध्ये नेपाल सरकारबाट विनियोजित ५ अर्ब ९९ करोड २१ लाख रुपैयाँ र आयोगको आन्तरिक स्रोतबाट ५६ करोड ४ लाख ९८ हजार रुपैयाँ व्यहोरिनेछ।
आयोगका अनुसार गत आव २०८२/८३ को असार मसान्तसम्म आन्तरिक स्रोतमा बचत रहेको ९९ करोड ८५ लाख ९६ हजार २६७ रुपैयाँ र चालु आवमा थप प्राप्त हुने अनुमानित ३५ करोड गरी कुल १ अर्ब ३४ करोड ८५ लाख ९६ हजार २६७ रुपैयाँ रकम मौज्दात रहेको छ। सोही मौज्दात रकममध्ये चालु आवका लागि ५६ करोड ४ लाख ९८ हजार रुपैयाँ खर्च गर्ने निर्णय गरिएको छ। आन्तरिक स्रोतको खर्चतर्फ चालुतर्फ ४७ करोड ४२ लाख ९८ हजार रुपैयाँ र पुँजीगततर्फ ८ करोड ६२ लाख रुपैयाँ विनियोजन गरिएको छ। प्रधानमन्त्री शाहको अध्यक्षतामा बसेको उक्त महत्त्वपूर्ण बैठकमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, आयोगका उपाध्यक्ष प्रा. डा. देवेन्द्रबहादुर खत्री र सदस्य सचिव बसन्तप्रसाद कोइराला लगायतका उच्चपदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो।






