जनकपुरधाम । मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले आवश्यक औषधि तथा केमिकल खरिद गरी पूर्ण क्षमतामा सेवा सञ्चालन गरेसँगै स्थानीय नागरिकहरूले निजी प्रयोगशालाको तुलनामा न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षण गराउन पाएका छन्। प्रदेश सरकारद्वारा सञ्चालित यस प्रयोगशालाबाट अहिले दैनिक पाँच सयभन्दा बढी सेवाग्राहीले सेवा लिइरहेका छन्। निमित्त निर्देशक डा. नागेन्द्र यादवका अनुसार प्रयोगशालाले हाल विभिन्न २५६ प्रकारका जटिल तथा सामान्य स्वास्थ्य परीक्षण सेवाहरू निरन्तर प्रदान गर्दै आएको छ।
वि.सं. २०७८ कात्तिक १५ गते स्थापित यस संस्थाले मधेस प्रदेशका आठवटै जिल्लाका १३६ वटै स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशालाको सञ्जाल विस्तार गरी स्वास्थ्य सेवा पुर्याउँदै आएको छ। प्रयोगशालाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा मात्रै कुल आठ लाख ५५ हजार ५८२ जनाको स्वास्थ्य परीक्षण गरिएको छ, जसमध्ये जनकपुरधामस्थित केन्द्रीय प्रयोगशालाबाट दुई लाख तीन हजार ५८७ जना र पालिकास्तरका प्रयोगशालाहरूबाट छ लाख ५१ हजार ९९५ जनाले सेवा लिएका छन्। सोही अवधिमा प्रयोगशालाले स्वास्थ्य परीक्षणबाट चार करोड ७६ लाख ५२ हजार ८७ रुपैयाँ राजस्व संकलन गरेको छ।
सेवाग्राहीमैत्री सुधारतर्फ अघि बढेको प्रयोगशालाले एकीकृत (‘इन्टिग्रेटेड’) सेवा प्रणाली लागु गरी बिरामीहरूलाई एउटै स्थानबाट सम्पूर्ण परीक्षण गराउने सुविधा उपलब्ध गराएको छ। साथै, सामाजिक उत्तरदायित्वअन्तर्गत ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरूलाई शुल्कमा ९० प्रतिशत र अपाङ्गता भएका व्यक्तिहरूलाई ५० प्रतिशत विशेष छुटको व्यवस्था गरिएको छ। सरकारी स्वास्थ्य संस्थाहरूमा विभिन्न शाखा धाउनुपर्ने परम्परागत झन्झटलाई अन्त्य गर्दै एउटै थलोबाट सुलभ र छुटसहितको सेवा प्रवाह गरिनु प्रादेशिक स्वास्थ्य सेवामा अनुकरणीय सुधार भएको स्थानीयवासीको भनाइ छ।






