काठमाडौँ । विश्वभर व्यक्ति, समुदाय, संस्कृति तथा राष्ट्रहरूबिचको मित्रतामार्फत शान्ति स्थापना, सद्भाव र आपसी सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ आज (जुलाई ३० / साउन १४) अन्तर्राष्ट्रिय मित्रता दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०११ मा घोषणा गरेपछि हरेक वर्ष जुलाई ३० मा यो दिवस विश्वव्यापी रूपमा मनाउने गरिएको छ। राष्ट्रसङ्घले आफ्ना सदस्य राष्ट्रहरू, अन्तर्राष्ट्रिय सङ्गठनहरू तथा नागरिक समाजलाई संवाद, ऐक्यबद्धता, आपसी समझदारी र मेलमिलाप अभिवृद्धि गर्ने प्रकृतिका कार्यक्रमहरू सञ्चालन गर्न आह्वान गरेको छ।
राष्ट्रसङ्घका अनुसार विविधतायुक्त समुदाय र राष्ट्रहरूबिचको आत्मीय मित्रताले द्वन्द्व अन्त्य गरी शान्ति स्थापनाका प्रयासलाई प्रेरणा दिनुका साथै विश्वास र सहकार्यको बलियो पुल निर्माण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ। विशेषगरी भविष्यका नेतृत्वकर्ता युवा पुस्तालाई विभिन्न संस्कृति र समुदायसँग जोड्दै अन्तर्राष्ट्रिय समझदारी, विविधताको सम्मान तथा सहिष्णुताको भावना अभिवृद्धि गर्न राष्ट्रसङ्घले जोड दिएको छ।
यो दिवस राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले अघि सारेको ‘शान्तिको संस्कृति’ (Culture of Peace) अवधारणाको निरन्तरताका रूपमा रहेको छ। युनेस्कोले हिंसालाई अस्वीकार गर्दै द्वन्द्वका मूल कारणहरूलाई सम्बोधन गर्न र संवाद तथा सहकार्यका माध्यमबाट समस्या समाधान गर्न आग्रह गर्दै आएको छ। मित्रता, सम्मान, विविधताको स्वीकार र आपसी विश्वासबाट नै शान्तिपूर्ण तथा समावेशी विश्व निर्माणमा ठोस योगदान पुग्ने विश्वास यस अवसरमा व्यक्त गरिएको छ।






