बेनी (म्याग्दी) । म्याग्दीको सदरमुकाम बेनीमा सामुदायिक रूपमा सञ्चालन हुँदै आएको म्याग्दी बहुमुखी क्याम्पसमा पछिल्ला केही वर्षयता विद्यार्थी सङ्ख्या निरन्तर घट्दै गएपछि गम्भीर आर्थिक सङ्कट देखिन थालेको छ। गुणस्तरीय उच्च शिक्षा प्रदान गर्दै आए पनि सरकारी अनुदानको अभाव, बढ्दो बसाइँसराइँ र अध्ययन छाडेर बिचैमा वैदेशिक रोजगारीमा जाने प्रवृत्तिका कारण क्याम्पसको प्रशासनिक तथा सञ्चालन खर्च व्यवस्थापनमा ठुलो चुनौती थपिएको छ। क्याम्पसलाई शैक्षिक रूपमा अझ सबल र सक्षम बनाउन सङ्घ, प्रदेश र स्थानीय सरकारका साथै समुदाय, सरोकारवाला निकाय र नागरिकको साझा सहयोग आवश्यक रहेको क्याम्पस प्रशासनले जनाएको छ।
आयोजित पत्रकार भेटघाटमा क्याम्पस प्रमुख श्रीधर सुवेदीले सामुदायिक क्याम्पसले प्राध्यापक तथा कर्मचारीको तलब र प्रशासनिक खर्चका लागि सरकारबाट नियमित अनुदान नपाउने भएकाले चन्दा अभियान र विद्यार्थीको शुल्कमा मात्र भर पर्नुपर्ने बाध्यता रहेको बताउनुभयो। वि.सं. २०४८ मा स्थापित यस क्याम्पसले २०७६ सालमा विश्वविद्यालय अनुदान आयोगबाट धौलागिरि क्षेत्रमै पहिलोपटक अन्तर्राष्ट्रिय गुणस्तर सुनिश्चितता (QAA) मान्यता प्राप्त गरेको थियो। हाल दोस्रोपटक क्युएए प्राप्त गर्ने प्रक्रियामा रहेको क्याम्पसमा कक्षा ११, १२ देखि स्नातकोत्तर तह (मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र र बिआईसिटीई) सम्म करिब ८ सय विद्यार्थी अध्ययनरत छन्। क्याम्पसले हरेक वर्ष १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिँदै आएकोमा शैक्षिक सत्र २०८२/८३ मा १५८ जना विद्यार्थीलाई कुल ११ लाख १० हजार रुपियाँ छात्रवृत्ति वितरण गरिएको सहायक क्याम्पस प्रमुख नारायणप्रसाद सुवेदीले जानकारी दिनुभयो।






