हुम्ला । हुम्लामा परम्परागत आयुर्वेद उपचार पद्धतिप्रति बिरामीको आकर्षण वर्षेनी उल्लेखनीय रूपमा बढ्दै गएको छ। आयुर्वेद स्वास्थ्य केन्द्र हुम्लाका अनुसार केही वर्षअघिसम्म वार्षिक ४-५ सय जनाले मात्र सेवा लिने गरेकोमा पछिल्लो समय प्रचारप्रसार प्रभावकारी हुनु, उपचार तथा औषधी पूर्ण रूपमा निःशुल्क उपलब्ध हुनु र सहज सेवा पाइनुले यस पद्धतिप्रति बिरामीको चासो र विश्वास बढेको हो। केन्द्रकी प्रमुख चिकित्सक चाहना शर्माका अनुसार आर्थिक वर्ष २०८२/८३ मा मात्रै कुल चार हजार ८३६ जना बिरामीले आयुर्वेद उपचार सेवा लिएका छन्, जसमा दुई हजार ४१७ महिला र दुई हजार ४१९ पुरुष रहेका छन्। यो सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ८ सयले बढी हो।
आयुर्वेद केन्द्रबाट मुख्यतः वातव्याधि, अम्लपित्त, श्वासप्रश्वास, स्त्री तथा प्रसूति रोग, मूत्रसम्बन्धी समस्या, मलद्वार र छालाका रोगहरूको निःशुल्क उपचार हुँदै आएको छ। गत आर्थिक वर्षमा केन्द्रले जटिल मानिने क्षारसूत्र विधिबाट दुई जना फिस्टुला (भगन्दर) का बिरामीको सफल उपचारसमेत गरेको डा. शर्माले जानकारी दिनुभयो। कार्यालयले प्रचारप्रसारलाई तीव्र बनाएपछि हाल केन्द्रमा दैनिक ४० देखि ५० जना बिरामीले उपचार सेवा लिइरहेका छन्। सेवाग्राही जसकला बोहराले चिकित्सकले पर्याप्त समय दिएर परामर्श गर्ने र छिटो, छरितो सेवा पाइने भएकाले बिरामीको आकर्षण बढेको बताउनुभयो।
हाल आयुर्वेद स्वास्थ्य केन्द्रमा दुई जना चिकित्सक र एक जना कविराजबाट शिरोधारा, नस्यकर्म, बस्ती, कुञ्जल क्रिया, शङ्खप्रक्षालन र थेराप्युटिक योगलगायतका विशिष्ट सेवाहरू सञ्चालन भइरहेका छन्। जिल्ला सदरमुकामबाहिर सर्केगार्ड गाउँपालिकामा आयुर्वेद औषधालय र नाम्खा, खार्पुनाथ, अदानचुली, ताँजाकोट तथा चङ्खेली गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्रमार्फत पनि ग्रामीण भेगका नागरिकहरूलाई सेवा दिइँदै आएको छ। यी स्थानीय तहमा रहेका सेवा केन्द्रहरूमा पनि सेवाग्राहीको सङ्ख्या बढ्दै गएको चिकित्सक शर्माले बताउनुभयो।






