इलाम । विश्वबजारमा अद्वितीय स्वाद र बास्नाका लागि परिचित नेपाली ‘अर्गानिक’ चियाले अन्तर्राष्ट्रिय स्तरमा माग बढाए पनि प्रमाणीकरणका लागि भने किसान र उद्योगीहरूले बर्सेनि लाखौँ रुपियाँ खर्चनुपर्ने बाध्यता कायमै छ। नेपालभित्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला नहुनु र भएका स्वदेशी प्रयोगशालाले पनि वैदेशिक स्वीकृति नपाउनुले चिया उत्पादकहरू विदेशी संस्थाको भर पर्न बाध्य छन्। नासा, आइओएम र सेरेसलगायतका वैदेशिक प्रमाणीकरण निकायका प्रतिनिधिहरूलाई वर्षमा ३ देखि ४ पटकसम्म नेपाल बोलाएर बगान तथा उद्योगको अनुगमन गराउँदा इलामका उद्योगीहरूले मात्रै वार्षिक आठ लाखदेखि ३२ लाख रुपियाँसम्म खर्च गरिरहेका छन्। यसरी प्रमाणीकरण भएको चिया जर्मनी, रुस, फ्रान्स, अमेरिका र चीनजस्ता मुलुकहरूमा निर्यात भई ‘गोल्ड मेडल’ सम्म जित्न सफल भए पनि राज्यको सहयोग र आफ्नै प्रयोगशाला अभावमा किसानहरू मर्कामा परेका छन्।
प्रयोगशाला परीक्षणको नाममा भारतले बेलाबेलामा गर्ने नाकाबन्दी र कडाइका बिच प्रधानमन्त्री वालेन्द्र शाहले ‘अर्गानिक एसोसिएसन नेपाल’ सँगको छलफलमा नेपालभित्रै प्रमाणीकरणको व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ। यो दीर्घकालीन समस्या समाधानका लागि राज्यले विश्वविद्यालयहरूसँग सहकार्य गर्दै त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय वा काठमाडौँ विश्वविद्यालयजस्ता शैक्षिक संस्थाहरूमा ‘अन्तर्राष्ट्रिय मान्यता प्राप्त अत्याधुनिक केन्द्रीय प्रयोगशाला (ISO/IEC 17025 Accredited Labs)’ स्थापना गर्नु प्रभावकारी विकल्प हुन सक्छ। विश्वविद्यालयहरूमा अत्याधुनिक अनुसन्धान केन्द्र स्थापना गरी प्राध्यापक तथा विद्यार्थीहरूलाई वैज्ञानिक अनुसन्धानमा परिचालन गर्दा यसले एकैसाथ अन्तर्राष्ट्रिय स्तरको प्रमाणीकरण सेवा उपलब्ध गराउने, निर्यात लागत घटाउने र उच्च शिक्षालाई प्रत्यक्ष रूपमा स्थानीय समुदाय तथा राष्ट्रिय अर्थतन्त्रसँग जोड्ने पुलको काम गर्नेछ।
विश्वविद्यालयीय प्रयोगशालाको पहुँचले किसानहरूको उत्पादकत्व बढाउनुका साथै नेपाली चियाको गुणस्तर मापनलाई सर्वसुलभ बनाउनेछ, जसले गर्दा ससाना चिया सहकारी र किसानहरूले समेत सहजै अर्गानिक प्रमाणीकरण पाउन सक्नेछन्। राज्यले विश्वविद्यालयमा आधारित आधुनिक अनुसन्धान र प्रमाणीकरण प्रणालीमा लगानी बढाएमा नेपाली चिया उद्योग आत्मनिर्भर बन्नुका साथै ग्रामीण भेगका चिया किसानको जीवनस्तर उकास्न र सामाजिक-आर्थिक रूपान्तरणमा ठुलो योगदान पुग्ने देखिन्छ।






