काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभिटी), परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले शैक्षिक सत्र २०८३/०८४ का लागि आफ्ना आङ्गिक शिक्षालयहरूमा डिप्लोमा इन फार्मेसी कार्यक्रममा अनलाइन आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना जारी गरेको छ। परिषद्को च.नं. १७५ (मिति २०८३/०४/१४) को पत्रअनुसार यसअघि प्रकाशित सूचनाका सम्पूर्ण सर्तहरू लागू हुने गरी थप गरिएका आङ्गिक शिक्षालय, कार्यक्रम र कोटाहरूमा भर्ना प्रक्रिया अघि बढाउन आवेदन आह्वान गरिएको हो।
सार्वजनिक सूचना अनुसार कोशी प्रदेशको उत्तरपानी बहुप्राविधिक शिक्षालय (धनकुटा), मधेस प्रदेशको लहान प्राविधिक शिक्षालय (सिरहा), बागमती प्रदेशको दिनेश रामजी बहुप्राविधिक शिक्षालय (सिन्धुपाल्चोक), गण्डकी प्रदेशको कालीगण्डकी बहुप्राविधिक शिक्षालय (तनहुँ), र कर्णाली प्रदेशको सहिद यज्ञश्वर बहुप्राविधिक शिक्षालय (रुकुम पश्चिम) गरी ५ वटा आङ्गिक शिक्षालयहरूमा डिप्लोमा इन फार्मेसीका लागि स्वीकृत कोटा थप गरिएको छ। यी प्रत्येक आङ्गिक शिक्षालयहरूमा पूर्ण शुल्कीयतर्फ स्वीकृत ४०-४० कोटा र वर्गीकृत (निःशुल्क) छात्रवृत्तिर्फ ३-३ कोटा (उत्तरपानी शिक्षालयमा ३ कोटा) निर्धारण गरिएको छ।
फाराम भर्ने समय तालिकाअनुसार इच्छुक आवेदकहरूले २०८३ साउन १५ गतेदेखि साउन २१ गते राति ११:५९ बजेसम्म अनलाइन आवेदन फाराम भरिसक्नुपर्नेछ। सम्बन्धित शिक्षालयहरूले साउन २२ गते नतिजा प्रकाशन गरी भर्ना तथा रजिस्ट्रेसन फाराम भराउने प्रक्रिया सम्पन्न गर्नुपर्नेछ। यसअघि वैशाख १२, २९ र जेठ २ गते प्रकाशित सूचना अनुसार अनलाइन आवेदन फाराम भरी उत्तीर्ण सूचीमा रहेका आवेदकहरूले समेत सम्बन्धित शिक्षण संस्थामा भर्नाका लागि निवेदन दिन सक्नेछन्। उत्तीर्ण सूचीमा रहेका आवेदकहरूबाट भर्ना सिफारिस गरी सिट रिक्त हुन गएमा योग्यताक्रम निर्धारण गरी नतिजा प्रकाशन गरिने सीटीईभिटीले जनाएको छ।






