सुस्तामा भारतीय एसएसबीको बलमिच्याइँप्रति अखिल (क्रान्तिकारी) को आक्रोश: ‘सरकारी लाचारी अन्त्य गरी कूटनीतिक विरोध जनाउन’ माग
शिक्षाखबर डेस्क
१७ श्रावण २०८३, आईतवार
no immg

काठमाडौँ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ स्थित नेपाली भूभागमा भारतीय सशक्त् सीमा बल (एसएसबी) ले अनाधिकृत रूपमा प्रवेश गरी स्थानीय जनताले नारायणी नदीको कटानबाट बस्ती जोगाउन निर्माण गरिरहेको १३२ मिटर लामो अस्थायी बाँध बलपूर्वक भत्काएको घटनाप्रति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले गम्भीर ध्यानाकर्षण गराउँदै कडा शब्दमा भर्त्सना गरेको छ। सङ्गठनका केन्द्रीय अध्यक्ष विजय प्रकाश शर्मा सापकोटाद्वारा जारी विज्ञप्तिमा सीमा मानिँदै आएको स्थानभन्दा सयौँ मिटर नेपालभित्र प्रवेश गरी तटबन्ध भत्काउनु र नेपाली नागरिकमाथि दादागिरी देखाउनु नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र अन्तर्राष्ट्रिय सीमा मान्यताको घोर उल्लङ्घन भएको उल्लेख गरिएको छ।

अखिल (क्रान्तिकारी) ले भारतीय विस्तारवादको यस मिचाहा, हस्तक्षेपकारी र हेपाहा प्रवृत्तिको भर्त्सना गर्दै आफ्नै भूमिमा विदेशी सुरक्षा बलले नङ्गा नाच देखाउँदासमेत नेपाल सरकार निरीह, मौन र प्रभावहीन बनेको भन्दै तीव्र आक्रोश व्यक्त गरेको छ। आफ्ना नागरिक र भूमिमाथि वैदेशिक हस्तक्षेप हुँदा पनि सरकार दह्रोसँग उभिन नसक्नु राष्ट्रिय स्वाभिमानमाथिको गम्भीर प्रश्न भएको वक्तव्यमा उल्लेख छ। सङ्गठनले भारतीय पक्षसमक्ष तत्काल कडा कूटनीतिक विरोध पत्र पठाउन, सुस्ता क्षेत्रमा नेपाली सुरक्षाकर्मीको उपस्थिति सुदृढ गर्न, स्थायी तटबन्ध निर्माण गर्न तथा नेपाली भूमि, सीमा र नागरिकको सुरक्षाको प्रभावकारी ग्यारेन्टी गर्न सरकारसँग जोडदार माग गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर
भर्खरै