भद्रपुर (झापा) । पूर्वी नाका काँकडभिट्टा भएर भारततर्फ हुने नेपाली चियाको निर्यातमा उल्लेख्य गिरावट आएको छ। काँकडभिट्टा भन्सार कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०८२/८३ मा चिया निर्यातको परिमाण र आम्दानी दुवैमा कमी आएको हो। आर्थिक वर्ष २०८२/८३ मा काँकडभिट्टा नाका हुँदै ३ अर्ब ५२ करोड ९६ लाख ६९ हजार रुपियाँ बराबरको १३ हजार ४५ मेट्रिक टन चिया निर्यात भएको छ, जबकि अघिल्लो आव २०८१/८२ मा ४ अर्ब १६ करोड ९३ लाख ५८ हजार रुपियाँ मूल्य बराबरको १५ हजार ३११ मेट्रिक टन चिया निकासी भएको थियो। निर्यात परिमाण घट्दा चियाबाट हुने वैदेशिक आम्दानीमा ६३ करोड ९६ लाख ८९ हजार रुपियाँको भारी गिरावट आएको छ।
प्रमुख भन्सार प्रशासक शिवलाल न्यौपानेका अनुसार पूर्वी नाकाबाट निर्यात हुने प्रमुख वस्तुमध्ये अलैँचीपछि चिया दोस्रो स्थानमा पर्छ। नेपाली सिटिसी तथा अर्थोडक्स चियाको मुख्य बजार भारत नै रहेकाले भारतीय बजारमा हुने मूल्य उतारचढाव, प्रयोगशाला तथा गुणस्तर परीक्षणका नाममा भारततर्फबाट हुने गैर-भन्सार अवरोध, र अन्तर्राष्ट्रिय मागअनुसार उत्पादन तथा मूल्य निर्धारणमा आउने परिवर्तनका कारण निर्यात प्रभावित भएको हो। नेपालमा उत्पादित चियाको ठुलो हिस्सा यही नाका भएर बाहिरिने भएकाले निर्यातमा आएको यस गिरावटले चिया उत्पादक किसान, प्रशोधन उद्योगी, र समग्र राष्ट्रिय वैदेशिक व्यापार घाटामा समेत गम्भीर नकारात्मक असर पार्ने देखिएको छ।






