काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि १० प्राध्यापक संक्षिप्त सूचीमा: साउन २२ गते प्रस्तुतीकरण र अन्तर्वार्ता हुने
शिक्षाखबर डेस्क
१९ श्रावण २०८३, मंगलवार
no immg

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू) को नयाँ उपकुलपति (भीसी) नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले खुला प्रतिस्पर्धाबाट प्राप्त आवेदनहरूमध्ये १० जना उम्मेदवारहरूको सङ्क्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गरेको छ। “काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३” बमोजिम दरखास्त दिएका ३५ जना आवेदकमध्येबाट कार्यविधि अनुसार मूल्याङ्कन गरी समितिले सोमबार वर्णानुक्रमअनुसार १० जना वरिष्ठ प्राध्यापक तथा शैक्षिक विज्ञहरूको नाम सार्वजनिक गरेको हो। सार्वजनिक गरिएको सङ्क्षिप्त सूचीमा परेका उम्मेदवारहरूका सम्बन्धमा कुनै राय वा सुझाव भए सर्वसाधारण नागरिक तथा सरोकारवालाहरूलाई आगामी साउन २० गतेभित्र उपलब्ध गराइएको गुगल लिङ्कमार्फत पठाउन आह्वान गरिएको छ।

सङ्क्षिप्त सूचीमा परेका उम्मेदवारहरूको सोझो प्रस्तुतीकरण (Presentation) र अन्तर्वार्ता आगामी साउन २२ गते शिक्षा तथा खेलकुद मन्त्रालय, सिंहदरबारमा सञ्चालन हुने तय भएको छ। पहिलो समूहका पाँच जना उम्मेदवारहरू प्रा. डा. दयाराम पोखरेल, प्रा. डा. निरञ्जन पराजुली, प्रा. डा. बालचन्द्र लुइँटेल, प्रा. डा. बिकाश नकर्मी र प्रा. डा. बिमप्रसाद श्रेष्ठको प्रस्तुतीकरण बिहान ८:०० बजेदेखि सञ्चालन हुनेछ। त्यसैगरी दोस्रो समूहका पाँच जना उम्मेदवारहरू प्रा. डा. राजेन्द्र जोशी, प्रा. डा. विवेक बराल, प्रा. डा. शेषानन्द सञ्जेल, प्रा. डा. सुबोध शर्मा र प्रा. डा. हरिप्रसाद न्यौपानेको प्रस्तुतीकरण सोही दिन दिउँसो १:०० बजेदेखि सुरु हुनेछ। प्रत्येक उम्मेदवारलाई १५ मिनेटको सोचपत्र प्रस्तुत गर्ने समय दिइनेछ र त्यसलगत्तै अन्तर्वार्ता लिइनेछ।

प्रतिक्रिया
सम्बन्धित खबर
भर्खरै