काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू) को नयाँ उपकुलपति (भीसी) पदमा प्रा. डा. विवेक बराल नियुक्त हुनुभएको छ। विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री बालेन शाहले साउन २९ गते बराललाई उक्त पदमा नियुक्त गर्नुभएको हो। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गठित उपकुलपति छनोट तथा सिफारिस समितिले खुला प्रतिस्पर्धा र मेरिटका आधारमा बरालको नाम सिफारिस गरेको थियो। ३५ जना आवेदकहरूमध्येबाट सर्टलिस्टमा परेका १० जना उम्मेदवारहरूको प्रस्तुतीकरण र अन्तर्वार्ता पश्चात् सिफारिस समितिले उहाँको नाम चयन गरेको हो। केयूकै मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक रहनुभएका बराल सोही विश्वविद्यालयमा अध्ययन गरेर उपकुलपतिको जिम्मेवारी सम्हाल्ने पहिलो व्यक्तित्व बन्नुभएको छ।
नवनियुक्त उपकुलपति प्रा. डा. बरालले काठमाडौँ विश्वविद्यालयबाटै मेकानिकल इन्जिनियरिङमा स्नातक तह पूरा गर्नुभएको थियो। त्यसपछि उहाँले जापानको प्रसिद्ध टोकियो विश्वविद्यालयबाट स्नातकोत्तर र न्युजिल्यान्डको अकल्यान्ड विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) हासिल गर्नुभएको हो। इन्धन तथा ऊर्जा, दहन विज्ञान (Combustion Science), वातावरणीय प्रदूषण, थर्मोफ्लुइड इन्जिनियरिङ र कम्प्युटेसनल फ्लुइड डाइनामिक्सका विज्ञ बरालले केयूमा उपप्राध्यापक र सहप्राध्यापक हुँदै प्राध्यापक पदमा पदोन्नति भएर लामो समय प्राज्ञिक सेवा दिनुभएको छ। उहाँले विश्वविद्यालयमा ऊर्जा, वातावरण, बायोमास ऊर्जा, थर्मोडाइनामिक्स, फ्लुइड मेकानिक्स, हिट ट्रान्सफर, र इन्टरनल कम्बसन इन्जिनलगायतका विषयहरू अध्यापन गराउँदै आउनुभएको छ। आफ्नै उत्पादनले नेतृत्व पाएपछि केयूको प्राज्ञिक तथा अनुसन्धानको क्षेत्रमा नयाँ उत्साह छाएको छ।






