काठमाडौँ । प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन गम्भीर रूपमा प्रभावित भएको विषम परिस्थितिलाई मध्यनजर गर्दै शिक्षा तथा खेलकुद मन्त्रालयले सबै तहका परीक्षा तत्कालका लागि स्थगित गर्न विश्वविद्यालयहरू तथा मातहतका निकायहरूलाई औपचारिक निर्देशन दिएको छ। विभिन्न विश्वविद्यालयका सहकुलपति समेत रहनुभएका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालय ऐनले दिएको विशेष अधिकार प्रयोग गर्दै भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय गरिएका सबै विश्वविद्यालयअन्तर्गतका परीक्षाहरू रोक्न निर्देशन दिनुभएको हो। यसैगरी, भदौ १२ गते निर्धारित परीक्षामा विभिन्न कारणले सहभागी हुन नसकेका परीक्षार्थीहरूका लागि अनुकूल समयमा पुनः परीक्षा सञ्चालनको व्यवस्था मिलाउन पनि मन्त्रालयले प्रस्ट पारेको छ।
मन्त्रालयको निर्देशनानुसार सबै परीक्षाहरू तत्काल स्थगित गरी परिस्थितिको मूल्याङ्कनपश्चात् उपयुक्त समयमा संशोधित तालिका सार्वजनिक गरिनेछ। यसका साथै अत्यावश्यकबाहेकका सामूहिक भेला, गोष्ठी, सेमिनार तथा सभाहरू पूर्ण रूपमा रोक्न भनिएको छ। विपद्बाट प्रभावित बनेका विद्यार्थी तथा अभिभावकहरूसँग विश्वविद्यालय र सम्बन्धित शैक्षिक संस्थामार्फत निरन्तर सम्पर्क तथा समन्वय गरी आवश्यक सहयोग पुर्याउन, प्रभावित विद्यार्थीहरूका लागि मनोसामाजिक परामर्शको व्यवस्था गर्न र पठनपाठनमा परेको असरलाई सम्बोधन गर्दै शैक्षिक निरन्तरताका लागि विशेष सहजीकरण गर्न निर्देशनमा ताकेता गरिएको छ।
संवेदनशील अवस्थालाई ध्यानमा राखी यी निर्णयहरू तत्काल कार्यान्वयन गर्न र गराउन विश्वविद्यालयका पदाधिकारीहरूलाई मन्त्री पोखरेलले आग्रह गर्नुभएको छ। विपद्को यस कठिन समयमा विश्वविद्यालय परिवारका विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीहरूको सुरक्षा र हितलाई सर्वोच्च प्राथमिकतामा राखेर काम गर्न समेत मन्त्री पोखरेलले अनुरोध गर्नुभएको छ।






