बाढी प्रभावितका लागि सुदूरपश्चिम विश्वविद्यालयको सहयोग
शिक्षाखबर डेस्क
१३ भाद्र २०८३, शनिबार
no immg

महेन्द्रनगर, कञ्चनपुर । गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोर्खा लगायतका जिल्लाहरूमा ठुलो जनधनको क्षति भएको प्रति सुदूरपश्चिम विश्वविद्यालय परिवारले गहिरो दुःख व्यक्त गर्दै बाढी प्रभावितहरूको उद्धार, राहत तथा पुनस्थापनाका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. गोविन्द सिंह विष्टद्वारा भदौ १३ गते जारी सूचना अनुसार भदौ १३ गते नै बसेको सुदूरपश्चिम विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले विश्वविद्यालय र मातहतका निकायहरूमा कार्यरत पदाधिकारी, शिक्षक तथा कर्मचारीहरूको भदौ महिनाको मासिक पारिश्रमिकबाट रकम कट्टा गरी ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ तथा ‘प्रधानमन्त्री राहत कोष’मा जम्मा गर्ने निर्णय गरेको हो।

निर्णयानुसार विश्वविद्यालयका उपकुलपतिबाट एक महिनाको पुरै तलब बराबरको रकम राहत कोषमा योगदान गरिनेछ। यसैगरी प्राध्यापक, सह-प्राध्यापक, सह-प्रशासक वा सो सरहका शिक्षक तथा कर्मचारीहरूबाट मासिक सुरु तलब स्केलको १० दिनको तलब र उप-प्राध्यापक, उप-प्रशासक, सहायक प्रशासक, शिक्षण सहायक, प्रशिक्षक वा सो सरहका शिक्षक तथा कर्मचारीहरूबाट ७ दिनको तलब कट्टा गरिनेछ। साथै मुख्य सहायक, सहायक वा सो सरहका कर्मचारीहरूबाट ५ दिनको र श्रेणीविहीन कर्मचारीहरूबाट मासिक सुरु तलब स्केलको २ दिनको तलब कट्टा गरी राहत कोषमा जम्मा गर्ने व्यवस्था मिलाइएको छ। विश्वविद्यालय परिवारले विपद्मा परी ज्यान गुमाएका नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर