१५ वैशाख, चितवन । चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी) मा ट्रमा सेन्टर सञ्चालनमा आएको छ । चौबीसै घण्टा सुविधा दिने गरी सेन्टर सञ्चालनमा ल्याईएको हो ।
अस्पतालका निर्देशन डा. दयाराम लम्सालले नर्न ट्रमा र ट्रमाका बिरामी एकै ठाउँमा राखेर उपचार गर्दा कहिलेकाही ट्रमाका बिरामी प्राथमिकतामा नपर्ने हुँदा छुट्टै ट्रमा सेन्टर शुरु गरिएको बताए । उनले भने “इमर्जेन्सीमा कहिले मुटु, कहिले ब्रेनहेमरेज, कहिले सानो बच्चा बिरामी आउँदा ट्रमाको बिरामी प्राथमिकतामा नपर्न सक्छन् । तर ट्रमा सेन्टरमा प्राथमिकता पाउँछन् ।” ट्रमाका बिरामीहरुको केयरमा अझै बढी ध्यान पुगोस् भनेर सेवा शुरु गरिएको उनको भनाई छ ।
उनले ट्रमा सेन्टरमा स्पेशलिष्ट डाक्टरहरुको कनेक्टिभिटी छिटो हुने बताए । उनले अगाडि भने “ट्रमा सेन्टर बनाउँदा ट्रम र ननट्रमा दुवैका बिरामीलाई न्याय हुन्छ । विकसित राष्ट्रहरुमा ट्रमा सेन्टर छुट्टै बनाउने प्रचलन छ ।” दुवै प्रकृतिका बिरामी एकै ठाउँमा राखेर उपचार गर्न हुँदैन भन्ने नभएको बताउँदै उनले ट्रमा सेन्टर बनाउदा उत्तम भएको बताए । उनले भने “यो उत्तम कार्य हो भनेर हामीले शुरु गरेका हौं । अझै छिटोछरितो र गुणस्तरीय सेवा होस् भन्ने चाहना हाम्रो हो ।”
ट्रमा सेन्टरमा एनेस्थेसिया, जनरल सर्जरी, अर्थाेपेडिक सर्जरी, म्याग्जिलोफेसियल लगायतका सेवालाई एक्टिभेट (सक्रिय) गर्न सजिलो हुने बताउँदै डा. लम्साललु भने “ट्रमा टिम नै चाहिन्छ, एक जना मात्रै भएर हुँदैन ।”
ट्रमा हेर्दै आएका सघन उपचार सम्बन्धी विशेषज्ञ डा. वसन्त गौलीका अनुसार ट्रमाका सम्पूर्ण प्रोटोकलहरु पालना गरेर सेवा शुरु गरिएको छ । सेन्टरमा ट्रमा इमर्जेन्सी, ट्रमा आईसियु, ट्रमा शल्यक्रिया (अप्रेशन) कक्ष, ट्रमा पोष्टअप, ट्रमा वार्ड रहेका छन् । दुर्घटनाका बिरामीको परीक्षणका लागि आवश्यक पर्ने, एक्सरे, सिटीस्क्यान, एमआरआई लगायत सम्पूर्ण सुविधा सेन्टरमा नै उपलब्ध हुने उनले जानकारी दिए ।
डा. गौलेले भने “जनरल इमर्जेन्सी (आकस्मिक कक्ष) मा मेडिकल, सर्जकल सबै खालका बिरामी हुन्छन् । उनीहरुको गम्भीरता एल्लो (पहेँलो), ग्रिन (हरियो), रेड (रातो) भनेर छुट्याईन्छ । इमर्जेन्सीमा कुनै बिरामीलाई विस्तारै उपचार गर्दा पनि हुन्छ । त्यही भिडमा ट्रमा (दुर्घटना लगायतका घाइते) बिरामी आयो भने अलपत्र हुन सक्छ । कसले हेर्ने भन्ने कन्फुजन हुन्छ ।” तर ट्रमा सेन्टरमा ट्रमाका मात्रै बिरामी आउने हुँदा उनीहरुलाई समयमा राम्रो र गुणस्तरीय उपचार सेवा पाउने उनको भनाई छ ।
ट्रमा सेन्टरमा अर्थाे, न्यूरो, स्पाईनल, म्याग्जिलोफेसियल लगायतका सेवा हुने हुँदा बिरामी भौतारिनु नपर्ने उनको भनाई छ । उनले भने “इमर्जेन्सीमा आएदेखि कसरी हेर्ने, कसले हेर्ने, शल्यक्रिया कति समयमा गर्ने भन्ने प्रोटोकलका आधारमा उपचार हुन्छ । इमर्जेन्सी शल्यक्रिया गर्नु परे तत्काल हुन्छ । २४ घण्टा चिकित्सक हुन्छन् । इमर्जेन्सी सर्जरी हुन्छ ।”
ट्रमा सेन्टरमा दुर्घटनाका घाइते आउँदै छन् भनेपछि त्यही अनुसार तयारी हुने बताउँदै डा. गौलीले भने “कतिपय बेवारिसे बिरामी अस्पताल पुगेर अलपत्र पर्ने हुन्छ । तर ट्रमा सेन्टरमा आएका बिरामी अलपत्र पर्दैनन् ।” दुर्घटनाका घाइतेका आफन्त दुई चार घण्टापछि मात्रै आउन सक्ने बताउँदै उनले त्यस्तो बिरामीलाई कसरी उपचार शुरु गर्ने, उपचारमा चाहिने औषधि लगायतका सामग्रीको व्यवस्थापन लगायत ट्रमाको टिमले गर्ने बताए । उनले भने “रक्त संचार केन्द्र (ब्लड बैंक), आफन्त, प्रहरीलगायत साना साना कुरामा पनि समन्वय हुन्छ ।”
ट्रमा सेन्टरका फिक्स प्रोडोकलभित्र रहेर कार्य हुने हुँदा धेरैभन्दा धेरैलाई घाइतेलाई बचाउन सकिने उनको भनाई छ । उनले अगाडि भने “बिरामी आएको एक घण्टाभित्र शल्यक्रिया गर्नुपर्ने हुन्छ । नर्मल इमर्जेन्सीमा आउँदा तीन घण्टा लाग्न सक्छ, तर ट्रमामा गयो भने तत्काल हुन्छ ।” ट्रमा सेन्टरमा अरु रोगका बिरामी नहुने हुँदा छिटो र सहज उपचार सेवा पाईने उनको भनाई छ ।
टाउकोदेखि खुट्टासम्मको जुनसुकै घाईतेको उपचार हुने बताउँदै डा. गौलेले भने “मुख्य भनेकै दुर्घटनाका बिरामीको गोल्डेन हावर हुन्छ । घाईतेको पहिलो केही घण्टा महत्वपूर्ण हुन्छ । यो समयमा कारण पत्ता लगाएर राम्रोसँग बिरामीको उपचार गर्न सक्यौं, रक्तश्राव रोक्नसक्यौं भने बचाउन सकिन्छ । गोल्डेन हावर गुम्यो भने गाह्रो हुन्छ ।” कतिबेला रगत दिने, कतिखेर स्लाईन दिने, कुन औषधि कतिखेर चलाउने, शल्यक्रिया कति समयमा गर्ने भन्ने फ्रिक्स प्रोटोकलभित्र रहेर ट्रमा सेन्टरमा काम हुने उनले बताए ।
ट्रमा सेन्टरमा काम गर्ने नर्स लगायतका स्वास्थ्यकर्मीहरु पनि ट्रमाको तालिम प्राप्त हुने हुँदा उपचारमा थप सहज हुने उहाँको भनाई छ । डा.गौलीले भने “नर्सहरुले एउटै प्रकृतिको बिरामी मात्रै हेरेका हुन्छन् । अन्यौल हुँदैन ।”
कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटले ट्रमा सेन्टर चितवनको स्वास्थ्य सेवामा एउटा नयाँ आयाम भएको बताए । उनले चितवनमा विशिष्टिकृत सेवासहितको ट्रमा सेन्टर संचालनमा आएसँगै चितवन र आसपासका जिल्लाका दुर्घटनाका घाइते उपचारका लागि राजधानी धाउनु पर्ने बाध्यता हटेको बताए ।