विज्ञहरू भन्छन् – शिक्षा प्रणालीमा सुधारको खाँचो छ
शिक्षाखबर डेस्क
२२ बैशाख २०७९, बिहीबार
no immg

२२ वैशाख, काठमाडाैँ । नेपालको शिक्षा प्रणालीमा सुधारको खाँचो रहेको यस क्षेत्रका जानकारहरूले औँल्याएका छन् । उनिहरूले शैक्षिक उन्नयनका लागि पाठ्यक्रममा नै सुधार गर्नुपर्ने र शिक्षकलाई उत्प्रेरणा जगाउनुपर्नेमा जोड दिएका छन् ।

सल्लाघारी अल्मुनाइ एसोसिएशनको आयोजनामा आज काठमाडौँमा भएको एक विचार गोष्ठीमा शिक्षा क्षेत्रका जानकारहरूले शिक्षा प्रणालीलाई समयसापेक्ष बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको पनि औँल्याएका हुन् ।

उक्त एसोसिएशन नेपाली सेनाको सैनिक कल्याणकारी निर्देशनालयद्वारा सञ्चालित विद्यालय, माहविद्यालय, तथा स्वास्थ्य विज्ञान अध्ययन संस्थानबाट अध्ययन पूरा गरेका विद्यार्थीको छाता सङ्गठन हो ।

बुधबार सैनिक मुख्यालय जङ्गी अड्डामा भएको गोष्ठीमा नेपालको शिक्षा, सैनिक आवासीय माध्यामिक विद्यालयका शिक्षा र विश्वमा अभ्यास भइरहेका शिक्षा प्रणालीका विषयमा समेत विमर्श भएको थियो ।

विचार गोष्ठीमा प्रा डा मनप्रसाद वाग्ले, डा कर्ण राना, शिक्षा मन्त्रालयका सहसचिव डा हरि लम्साल, कमलसिंह राठौर, प्रा जयराज अवस्ती, प्रा हेमन्त शमेर राणालगायत विभिन्न क्षेत्रका सैनिक आवासीय माध्यामिक विद्यालयका प्रधानाध्यापककोसमेत सहभागिता थियो ।

गोष्ठीमा ‘राष्ट्रिय राष्ट्रियता र पहिचान शीर्षकमा छुट्टै सत्र सञ्चालन भएको एसोसिएशनका सचिव बालगोपाल कार्कीले जानकारी दिए । वक्ताहरूले नेपालको परम्परागत शिक्षा प्रणालीलाई आत्मसात् गर्दै त्यसैको जगमा टेकेर आधुनिक शिक्षा प्रणालीको विकास गर्नुपर्नेमा जोड दिएका थिए ।

गोष्ठीको समापन समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति प्रभुराम शर्माले शैक्षिक विकासका लागि गोष्ठी फलदायी हुने विश्वास व्यक्त गर्दै आधुनिक शिक्षा प्रणालीको विकासका लागि यस्ता कार्यक्रमको आवश्यकतामा जोड दिए ।

उनले कार्यक्रमको विषयमा प्रतिवेदन प्रकाशित गरी सम्बन्धित निकायमा पठाउने पनि प्रतिबद्धता जनाए । एसोसिएशनले यसअघि खेलकूद, शिक्षा, विभिन्न क्षेत्रमा राहत वितरण, रक्तदानगायत विभिन्न सामाजिक क्षेत्रमा योगदान गर्दै आएको छ । एसोसिएशनले प्रतिवेदन तयार भएपछि शिक्षा मन्त्रालयसहित सैनिक आवासीय महाविद्यालय तथा सरोकारवाला निकायमा पेश गर्ने जनाएको छ ।

प्रतिक्रिया