२४ असार, झापा । झापाको शिवसताक्षी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० मा शिक्षालाई विशेष प्राथमिकता दिएको छ । नगर क्षेत्रमा रहेका सबै सामुदायिक विद्यालयलाई ‘स्मार्ट’ बनाउने लक्ष्यसहित शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिइएको नगरप्रमुख मेघाहाङ थोप्रा (रोशन) ले बताए ।
नगरपालिकाको सभाहलमा आज रिपोर्टर्स क्लब मेचीले आयोजना गरेको ‘बजेटको प्राथमिकता र कार्यान्वयन पक्ष’ विषयक जनप्रतिनिधिसँगको अन्तरक्रियामा उनले भने, “आगामी पाँच वर्षभित्र नगरका सबै विद्यालयलाई स्मार्ट बनाउने लक्ष्य छ ।”
नगरपालिकाले आगामी आवका लागि शिक्षामा रू एक करोड ९० लाख बजेट विनियोजन गरेको छ ।
नगरका सङ्कटोन्मुख विद्यालय (विद्यार्थी सङ्ख्या कम भएका) लाई बजेट दिएर एकपटक मौका दिने गरी बजेट छुट्याएको छ ।
त्यति गर्दा पनि सुधार नभए नजिकैको विद्यालयसँग गाभिने नगरप्रमुख थोप्रा बताउछन् । विद्यालयमा पढ्ने र पढाउने वातावरण बनाउने योजना नगरको छ ।
नगरपालिकाले जीवनोपयोगी प्राविधिक शिक्षामा जोड दिएको छ । “नगरकै खर्चमा निःशुल्क प्राविधिक शिक्षा दिन कोष बनाइएको छ”, उनले भने, “विपन्न तथा गरिब विद्यार्थीको शैक्षिक विकासमा नगरले विशेष प्राथमिकता दिएको छ ।”
यसअघिका जनप्रतिनिधिले गरेका राम्रा कामलाई नगरपालिकाले निरन्तरता दिने उपप्रमुख नरमाया कार्कीले बताइन् ।
“यसअघिका जनप्रतिनिधिले धेरै काम गरेर हामीलाई सहज बनाउनुभएको छ”, उनले भनिन्, “अझै धेरै काम गर्न बाँकी छ । नागरिकको जीवनसँग सिधा सरोकार राख्ने पक्षलाई प्राथमिकतामा राखेर अघि बढ्छौँ ।”
नगरपालिकाले एम्बुलेन्स र शववाहन सेवा निःशुल्क उपलब्ध गराउने जनाइएको छ भने वारुणयन्त्र खरिदका लागि प्रक्रिया अगाडि बढाइसकेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत राईले नगरमा राजस्व परिचालन कम भएको बताए ।
“नगरको आन्तरिक वार्षिक आम्दानी तीन करोड मात्र छ”, उनले भने “आन्तरिक स्रोत कम हुँदा केन्द्रको बजेटको मात्र भर पर्नुपरेको छ ।” उनले आन्तरिक आम्दानी वृद्धि गर्नुपर्नेमा जोड दिए ।
कनकाई नहरबाट नगरका ११ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको बताउँदै नगरपालिकाका योजना अधिकृत प्रकाश चौधरीले प्रदेश नं १ सरकारले उपलब्ध गराउन लागेको एक करोडमा नगरपालिकाको रकम थप गरेर सिँचाइ सुविधा थप गर्न लागिएको जानकारी दिए ।
उनले भौतिक पूर्वाधार, सुशासन, सेवा–सूचनामा पहुँच अभिवृद्धि गरिँदै आएको बताए ।
नगरपालिकाका लेखा अधिकृत प्रकाश योङहाङले नगर क्षेत्रमा रहेका धार्मिक, ऐतिहासिक तथा पौराणिकस्थलको समग्र विकास गर्नुपर्नेमा जोड दिए ।
उनले ती स्थानबाट नगरले पर्यटनका माध्यमबाट राम्रो आम्दानी लिन सक्ने उल्लेख गरे ।
नगरपालिकाले भूमि व्यवस्थापनका लागि २० लाख छुट्याएको र २३९ अव्यवस्थित बसोबास घरपरिवारलाई धनीपूर्जा बाँड्ने तयारी भइरहेको नगरप्रमुख थोप्राले बताए ।
खेलकुदको विकास लागि नगरपालिकाले प्रत्येक वडालाई रू पाँच-पाँच लाख, रङ्गशाला निर्माणमा रू ५० लाख र अन्य विविध विषयमा गरी रू एक करोड ३० लाख बजेट छुट्याएको छ ।
नगरमा रहेका सबै स्वास्थ्य संस्थाको स्तरोन्नति गरी स्वास्थ्य चौकीबाटै अस्पतालबाट प्राप्त हुने सुविधा दिने लक्ष्य रहेको र समग्र कृषि क्षेत्र र कृषकको जीवनस्तर उकास्ने खालका योजना ल्याउन लागिएको नगरप्रमुख थोप्राले बताए ।