ताप्लेजुङ — आठराई त्रिवेणी गाउँपालिका ४ फूलबारीकी हर्करानी सेन्दाङ ५२ वर्षकी भइन् । उनी आँखा देख्दिनन् । उनको दैनिकी छामछुमकै भरमा घरवरिपरि मात्रै सीमित छ । उनकै छिमेकी असलीमाया लिम्बूको पनि अवस्था यस्तै छ । उनको दृष्टि गुमेको एक वर्ष भयो । उनी ६१ वर्षकी भइन् ।
हर्करानी छोराबुहारीका साथमा छिन् भने असलीमायाका छोरीहरू मात्रै साथमा छन् । दुवैको समस्या मोतीबिन्दुको हो । उनीहरूका दुवै आँखामा मोतीबिन्दु भएको पुष्टि डिचेन डोङगला आँखा उपचार केन्द्र ताप्लेजुङका इन्चार्ज काजी गुरुङले गरेका छन् । उनले उनीहरूको घरमै पुगेर जाँच गरेका थिए ।
जिल्ला सदरमुकाम फुङलिङमा वर्षमा दुईपटक नि:शुल्क शल्यक्रिया शिविर चल्छ । मोतीबिन्दुको उपचार विधि पनि सहज पनि उनीहरू त्यहाँ जाँदैनन् । सदरमुकाम पुग्न धेरै जटिन पनि छैन । गाउँबाट दुई घण्टाको पैदल दूरीमा मेची राजमार्ग भेटिन्छ । त्यहाँबाट १७ किमि पार गर्दा पुगिन्छ ।
उपचार गराउनु हुँदैन भन्ने अन्धविश्वास अझै छ । हर्करानीले भनिन्, ‘होस् यत्तिकै मर्छु उपचार गराउन त जाँदिनँ ।’ किन नजाने भन्ने जिज्ञासामा उनको ठोस उत्तर छैन, भन्छिन्, ‘आँखाको अप्रेसन गराउनु हुँदैन, होस्, यत्तिकै होस् ।’ परिवारका सदस्यले पनि सम्झाउन नसकेको बताए ।
हर्करानीकी बुहारीले भनिन्, ‘यहाँबाट ढाकरमा बोकेर लैजानुपर्छ जान्न भनेपछि जबरजस्ती पनि कसरी गर्नु र ?’ असलीमायाले भगवान्ले दिएको आँखा नबिगार्ने प्रतिक्रिया दिइन् । भनिन्, ‘४० वर्षदेखि आँखा कमजोर हुँदै जान्छ, ६० वर्षदेखि त देख्न पाइँदैन भन्ने पहिल्यै थाहा थियो नि ।’ छोरीहरूले समेत उपचार गर्न जानुपर्ने दबाब दिएपछि थपिन्, ‘मेरो शरीर ढाकरमा थामिंदैन । घर छाडेर हिँडेको छैन, होस् जान्न म त सक्दिनँ ।’
उपचार सम्भव रहेको तर गराउन नमान्नेको ठूलै जमात रहेको काजी गुरुङ बताउँछन् । त्यही भएर अहिले गाउँ/गाउँमा लगेर शिविर चलाउन थालेको बताउँछन् । त्यही गाउँमा शिविर चलाएपछि गाउँलेले जबरजस्ती ल्याएर पनि धेरैको शल्यक्रिया गरेको उनले बताए । ‘देख्न थालेपछि खुसी भएर प्रतिक्रिया दिन्छन्, कतिपयले रोएर तमासै देखाउँछन्, तर उपचारको पहुँचमा ल्याउनै कठिन,’ काजीले थपे, ‘उपचार ढिलो भएकै कारण आँखा गुमेका पनि थुप्रै भेटिन्छन् ।’
‘उनीहरू समयमा आउन मान्दैनन्, आँखा माड्छन्, जडीबुटी भनेर गाउँमा झारपात लगाउँछन्, हामी पुग्दा ढिलो भइसकेको हुन्छ,’ इन्चार्ज काजीले थपे, ‘त्यही फूलबारीमै जितबहादुर तामाङ र अर्की शेर्पा थरकी महिलाको आँखा बिग्रिइसकेछ ।’
जितबहादुरको हेरचाह गर्ने उनकी श्रीमती सुकरानी तामाङको स्थानीय गुरु निरौलाको सहयोगमा उपचार केन्द्रले बोकाएर ल्याएर शल्यक्रिया गरिदिएको छ । मंसिरमा शल्यक्रिया गरेकी उनले कोदो टिप्नेदेखि सियोले कपडा सिलाउनेसम्मको काम गर्न सक्ने भएको गुरुले बताए ।
फोटो :-गुगल