महिलाहरूको स्वास्थ्यप्रति परिवारका सदस्यलाई विशेष ध्यान दिन चिकित्सकहरूको आग्रह
शिक्षाखबर डेस्क
१७ श्रावण २०७९, मंगलवार
no immg

१७ साउन, काठमाडाैँ । नेपाल चित्रगुप्त महिला समितिले महिला स्वास्थ्य सम्बन्धी चेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।महिलाहरूको
स्वास्थ्यमा देखिने विभिन्न समस्याको बारेमा जानकारी दिने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको थियो ।

नेपाल चित्रगुप्त महिला समितिको अध्यक्ष वीणा सिन्हाको अध्यक्षतामा काठमाडौंको रोयल बैंकेटमा आयोजित कार्यक्रममा विभिन्न विधाका
चिकित्सकहरूले महिलाहरूको स्वास्थ्यमा देखिने समस्या र तीनको समाधानका उपायका बारेमा जानकारी दिएका थिए । कार्यक्रममा बोल्दै छाला तथा यौन रोग विशेषज्ञ डा.अनिल कुमार दासले महिलाहरूमा विभिन्न छाला सम्बन्धी समस्या देखिने गरेको बताए । उनले विशेषगरी गर्मी मौसममा महिलाहरूको छालामा विभिन्न एलर्जी आउने, रातो विविरा आउने, चायापोतो जस्तो समस्याहरू देखिने भएकाले घरबाट निस्किदा छाताको प्रयोग गर्न, सनस्क्रिनको प्रयोग गर्न आग्रह गरे ।

स्त्री तथा प्रसुतिरोग विशेषज्ञ डा.चन्दा श्रीवास्तवले महिलाहरूको स्वास्थ्यलाई विशेष ध्यान दिनुपर्ने बताइन् । उनले महिलालाई बाल्यकालदेखि नै स्वास्थ्यको विशेष ध्यान दिनुपर्ने भन्दै महिलाहरूमा हुने महिनावारी र महिनावारी बन्द हुने बेलासम्म घरका सबै सदस्यले विशेष ध्यान दिनुपर्ने पनि उल्लेख गरिन् ।कार्यक्रममा हाडजोर्नी रोग विशेषज्ञ डा.दिपक दत्तले महिलाहरूमा विशेषगरी ४० उमेर कटेपछि हाटजोर्नी सम्बन्धी समस्या बढ्न थाल्ने भएकाले क्याल्सियमको आवश्यकतालाई पूरा गर्न आग्रह गरे । उनले शरीरको कुनैपनि भागको हड्डी दुख्ने समस्या भएमा अनावश्यक औषधि सेवन नगर्न र चिकित्सकको सल्लाहमा औषधि उपचार गर्न पनि सुझाव दिए ।

उनले महिलालाई क्याल्सियमको आवश्यकता बढी हुने भएकाले क्याल्सियमयुक्त खानेकुरा खान पनि आग्रह गरे । यस्तै, कार्यक्रममा बोल्दै डा.हेमपाली दत्ताले नाक, कान, घाँटी सानो अङ्ग देखिए पनि यसमा जटिल समस्या हुन सक्ने भएकाले विशेष ध्यान दिन आग्रह गरिन् । उनले घाँटी दुखेमा, कान दुखेमा वा नाकमा केही समस्या भएमा औषधि पसलमा गएर चिकित्सकको सल्लाहबिनै औषधि सेवन गर्ने वा प्रयोग गर्ने परम्परा जस्तै भएकाले त्यस्तो नगर्न सुझाव दिइन् ।

उनले मानव शरीरका यी तीन अङ्ग संवेदनशील भएकाले चिकित्सकको परामर्शमा मात्रै औषधि उपचार गर्न आग्रह गरिन् । कार्यक्रममा बोल्दै स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा.अनामिका कर्णले महिलाहरूमा पछिल्लो समय पाठेघरको मुखको क्यान्सको समस्या बढ्दै गएको बताइन् ।उनले नेपालमा महिलामा स्तन पछिको दोस्रो सबैभन्दा धेरै पाठेघरको मुखको क्यान्सको समस्या देखिने गरेको हुनाले चिन्ताको विषय बन्दै गएको उल्लेख गरिन् ।

डा.कर्णले महिलाहरूमा जनचेतनाको कमीले गर्दा पाठेघरको मुखको क्यान्सर सम्बन्धि समस्या बढ्दै गएको हुनाले पाठेघरमा कुनैपनि समस्या देखिए चिकित्सकसँग परामर्श लिन आग्रह गरिन् । उनले महिलाहरूले पाठेघरमा कुनैपनि समस्या देखिए लाज मानेर चिकित्सकसँग परामर्श लिन नजाने र घरमै समस्या सहेर बस्दा यो झन् जटिल बन्दै गएको बताइन् ।

महिलामा देखिने विभिन्न समस्याबारे श्रीमान र घरपरिवारको भूमिका महत्त्वपूर्ण रहेकाले श्रीमति, बुहारी वा आमालाई कुनै समस्या भएमा
सोधपुछ गरेर अस्पताल लिएर जान पनि उनले आग्रह गरिन् । यस्तै, अर्का स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा.जमुना किरण पौडेलले महिलाहरूमा हुने महिनावारीको बेला सरसफाईमा ध्यान दिनुपर्ने बताइन् । उनले महिलाको प्रजनन् स्वास्थ्यसँग जोडिएको महिनावारी हुने
बेलादेखि बन्द हुने बेलासम्म घर परिवारका सदस्यले विशेष ध्यान दिनुपर्ने बताइन् ।

किशोरावस्थामा महिनावारी हुने भएकाले ती उमेर समूहका किशोरीहरूलाई महिनावारी थाहा नहुने भएकाले अभिभावकले सम्झाउने, उनीहरूलाई पोषिलो खाने कुरा दिने, आराम गर्न दिनुपर्ने पनि उनले सुझाव दिइन् । अज्ञानताका कारण नै महिलाहरूमा आङ्ग खस्ने
समस्या भएकाले यस्ता कार्यक्रमले सहयोग पुग्ने उनले बताइन् ।

कार्यक्रमको विशिष्ट अथितिमा नेपाल चित्रगुप्त समाजका अध्यक्ष रतिशचन्द्र लाल सुमनले गरेका थिए भने उद्घोषण नेपाल चित्रगुप्त महिला
समितिकी महासचिव निनु लालले गरेकी थिइन् ।

प्रतिक्रिया