१३ भदाै, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा धर्मकान्त बाँस्कोटाले विश्वविद्यालयमा निरन्तर तालाबन्दी, घेराउ र पदाधिकारी तथा कर्मचारीलाई धम्की दिइएर विश्वविद्यालयको काममा असहज अवस्था सिर्जना भएको बताएका छन्।
विश्वविद्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उपकुलपति बाँस्कोटाले विद्यार्थी सङ्गठनको नाममा एक समूहले आफ्नो कार्यकाल सुरु भएपछि कूल दुई सय ९२ दिन तालाबन्दी गरेको बताए। शैक्षिक माग सम्बोधन गर्न विद्यार्थी कल्याण र शिक्षाध्यक्षबाट निरन्तर र घण्टौँ वार्तामा बसेको पनि उनले बताए, “तर शैक्षिक माग देखाउने र अनौपचारिक रुपमा आफूले भनेको व्यक्तिलाई संकाय प्रमुख वा क्याम्पस प्रमुखको नियुक्ति दिनुपर्ने माग राख्ने र पूरा नगरे भौतिक आक्रमणसम्मको धम्की निरन्तर रुपमा दिँदै आएको छ”, उपकुलपति शर्माले भने।
सम्मेलनमा त्रिवि परिसरमा सुरक्षाका दृष्टिले असहज परिस्थिति सिर्जना भएका कारण बैठक बस्न नसकेको पनि उनले बताए। त्यसैले जमलस्थित एलो पेगोडा होटेलमा त्रिवि कार्यकारी परिषद्को बैठक बस्दा विद्यार्थीको नाममा आएका १०ः१५ जनाको समूहले आफूलाई त्रिवि पदाधिकारी र कर्मचारीलाई हातपात गर्ने निर्णय पुस्तिका खोस्नेकाम गरेको पत्रकार सम्मेलनमा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
यसै गरी पदाधिकारीलाई धम्कीपूर्ण एसएमएस पठाउने कार्य पनि सोही समूहबाट भइरहेको विज्ञप्तिमा जनाइएको छ। निरन्तरको अवरोधका कारण विश्वविद्यालयको अध्ययन अध्यापन, परीक्षा, कर्मचारी परिचालन, आर्थिक प्रशासन सञ्चालनलगायत अत्यावश्यक कार्यका ढिलाइ भइरहेको पनि उपकुलपति बाँस्कोटाले बताए।