२९ भदाै, झापा। गरे आफ्नै देशमा सुन फलाउन सकिन्छ भन्ने गतिलो उदाहरण बनेकी छन्, झापाको मेचीनगर नगरपालिका–१० की भावना अधिकारी । बाँझो रहेको जग्गामा ड्रागनफ्रुट खेतीमा लागेकी उनलाई यतिबेला भ्याइनभ्याई छ ।
श्रीमान् प्रहरीको जागिरको सिलसिलामा घरबाहिर छन् तर उनकै सहयोग र सुझावमा यो पेसामा लागेको उनि बताउँछिन् । अधिकारीले दुई वर्षअघि दुई बिघा क्षेत्रफलमा ड्रागनफ्रुट लाउन सुरु गरेकी हुन् । ठूलो चुनैती मोलेर रु एक करोडको लगानीमा फार्म सञ्चालनमा गरेकी थिइन् । विसं २०७७ मा प्याराडाइज एग्रोफार्ममार्फत ड्रागनफ्रुट खेती सुरु गरेकी उनले एक वर्षमै बिरुवा बेचेर राम्रै आम्दानी गरेकी छन् ।
उनले सुरुमा चार हजार ड्रागनफ्रुट बिरुवा भारतको हैदरावादबाट ल्याएर सुरु गरेकी थिइन् । यतिखेर राम्रै उत्पादन दिएको छ । अधिकारीको फार्ममा सायमा रेड सी प्रजाति (रातो फल) को ड्रागनफ्रुट लटरम्मै फलेको छ । दुई वर्षअगाडि सुरु गरिएको व्यवसायले यति छिटो आम्दानी देला भन्ने उनले सोचेकी थिइनन् । अधिकारीले कृषिमा कुनै तालिम नलिएको भन्दै आफैँले गुगल सर्च गरेर खेती सुरु गरेको बताइन् । पानी नजम्ने बलौटे माटो चाहिने रहेछ । वैशाखदेखि सुरु भएर कात्तिकसम्म फल दिने उनले बताइन् ।
ड्रागनखेतीले दोस्रो वर्षदेखि आम्दानी दिन सुरु गरेको थियो । एक पोलबाट वार्षिक ५० केजी फल फल्ने अधिकारीको भनाइ छ । स्वादिलो तथा पोषिलो यो फलको यतिबेला बजारममा राम्रै माग छ । वार्षिक ठूलो सङ्ख्यामा बाहिरबाट आयात हुने ड्रागनफ्रुट नेपालका विभिन्न स्थानमा व्यावसायिक खेती सुरु हुन थालेको छ । अधिकारीले यो याममा मात्र छ हजार केजी फल र २० हजार बिरुवा बेचेकी छन् । बजारमा ड्रागनफ्रुटको फलको प्रतिकेजी रु सात सय ५० पर्छ भने बिरुवाको रु दुई सय ५० पर्ने गरेको छ ।
दैनिक छ कामदारसँगै बारीमा ड्रागनफ्रुटको खेतीमा व्यस्त अधिकारीले एउटा बोटमै पाँच केजीसम्म फल दिने गरेको र अझै पाँच हजार केजी फल बेच्ने आशा लिएको बताइन् । उनले उत्पादन गरेको फल स्थानीय बजारलगायत इलाम, विराटनगर र काठमाडौँसम्म बिक्री हुने गरेको छ । किसानले यो खेती सुक्खा र पानी नजम्ने नेपालको सबै ठाउँमा गर्दै आएका छन् । एकपटक लगानी गर्दा कम्तीमा २५÷२६ वर्षसम्म आम्दानी दिने व्यवसाय भएकाले यसप्रति कृषकको आकर्षण बढ्दै गएको छ ।
ड्रागनफ्रुटसँगै भित्रभित्र बुटेखेती गर्न सकिने भएकाले नगदे बालीले विभिन्न जातका माछा, बाख्रापालन, लोकल कुखुरासमेत पाल्नुभएको भएको छ । सानो क्षेत्रफलमा थोरै लगानीबाट पनि यो व्यावसायिक खेती गर्न सकिने भएकाले सहरबजारका मानिसले समेत कौसी र करेसाबारीमा यो फल रोप्दै आएका छन् । कृषकको आकर्षण बढेसँगै उत्पादनमा वृद्धि हुने देखिएको छ ।