पूर्व विद्यार्थीले जुटाए एक करोड सहयोग
शिक्षाखबर डेस्क
९ कार्तिक २०७९, बुधबार
no immg

९ कार्तिक, म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीको किसानी चन्द्रकुन्ता माविको स्तरवृद्धिका लागि पूर्वविद्यार्थीले रु एक करोड बढी सहयोग जुटाएका छन् । दश जोड दुई तहको कक्षा र प्राविधिक विषयको पठनपाठन सञ्चालन गर्न धारापानी पूर्वविद्यार्थी संघले अक्षयकोष स्थापना गर्न आर्थिक स्रोत जुटाएको हो । संघका अध्यक्ष भरतबहादुर थापाले स्वदेश तथा विदेशमा रहेका धारापानी र छिमेकी गाउँका बासिन्दाबाट रु एक करोड तीन लाख सहयोग जुटेको जानकारी दिए ।

सामाजिक सञ्जाल फेसबुकबाट अभियानका साथै सांस्कृतिक कार्यक्रम गरेर आर्थिक संकलन गरिएको हो । धारापानीकी सरु पुनले सबैभन्दा बढी रु सात लाख उपलब्ध गराएका छन् । विद्यालयको भवन बनाउन स्थानीय चक्रबहादुर थापा, उनका भाइ पूर्ण थापा, बहिनी सुवा र मना खत्रीले बुबा चन्द्रबहादुर थापा र आमा कुन्तादेवी थापाको नाममा सात रोपनी जग्गा उपलब्ध गराएका छन् । जग्गा उपलब्ध गराउने दाताको नाममा विद्यालयको नामाकरण गरिएको छ । यसअघि किसानी मावि नाम थियो । दाताको नाम थपेर किसानी चन्द्रकुन्ता मावि बनाइएको छ ।

धारापानी घर भई हाल अमेरिकामा रहेका मोहन थापाले रु पाँच लाख दुई सय १५, बेदबहादुर राना र गीता रानाले रु पाँच लाख एक सय ५५, तेजिन्द्र थापा र विष्णु थापाले रु तीन लाख एक सय २५, काठमाडौं बस्ने पदमजंग थापाले रु एक लाख पाँच सय ५५, लालबहादुर राना र नरदेवी रानाले रु. एक लाख एक सय ११ सहयोग गरेका छन् ।

एक वर्षभित्र जम्मा गरिसक्ने र अक्षयकोष बनाएर विद्यालयको स्तरवृद्धिका लागि परिचालन गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रबहादुर थापाले बताए । कक्षा १० सम्मको पठनपाठन हुने विद्यालयमा दुई सय २८ जना विद्यार्थी छन् ।

प्रतिक्रिया