२० वर्ष पुगेर विवाह गर्ने किशोरीले १० हजार पाउने
शिक्षाखबर डेस्क
२० मंसिर २०७९, मंगलवार
no immg

२० मंसिर, कालीकोट। कालीकोटको खाँडाचक्र नगरपालिका–१ ले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई रु १० हजार प्रदान गर्ने भएको छ। वडाले बालविवाह न्यूनीकरण गर्न यस्तो निर्णय गरेको हो।

बालविवाहविरुद्धको साझा अभियान कालीकोटका संयोजक खडानन्द अधिकारीको बालविवाह न्यूनीकरणका लागि वडाले गरेको निर्णयले केही हदसम्म बालविवाह कम हुने बताए। “बालविवाह गर्ने चलन निकै रहेको ठाउँमा वडाले पुरुस्कार दिँदा न्यूनीकरण हुन्छ भन्ने उद्देश्य राखेको छ”, उनले भने, “उमेर नपुगी विवाह गर्ने चलन अन्त्य गर्नका लागि यो अभियानलाई जिल्लाभर लैजान जरुरी रहेको छ।”

दलित समुदायका उमेर पुगेर विवाह गर्ने महिलालाई रु १० हजार नगद दिने निर्णय वडाले गरेको वडाध्यक्ष धर्मराज ताम्रकारले जानकारी दिए। “हामीले उमेर पुगेर विवाह गर्ने किशोरीलाई पुरस्कार दिने निर्णय गरेका छौँ”, उनले भने, “यसले बालविवाह न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास लिएका छौँ।”

विशेषगरी विद्यालयस्तरमा र बालविवाहबारे चेतना जगाउने खालका कार्यक्रमलाई विशेषरूपमा नगरपालिकाले अगाडि बढाएको नगरपालिका उपप्रमुख गणेशबहादुर शाहीले बताए।

“अहिले उमेर पुगेपछि विवाह गर्ने किशोरीलाई एउटा वडामा मात्रै पुरस्कार दिने निर्णय गरेका छौँ”, उनले भने, “आगामी दिनमा नगरपालिका सबै वडामा यो कार्यक्रम लागू गर्ने योजना रहेको छ।”

प्रतिक्रिया