आयुर्वेदिक उपचारमा जनविश्वास बढ्दो
शिक्षाखबर डेस्क
१ पुष २०७९, शुक्रबार
no immg

१ पुस, भोजपुर। आयुर्वेदिक उपचार पद्धतिमा यहाँका स्थानीयवासीको जनविश्वास बढेको छ । कम खर्चमा रोग निको हुने भएपछि स्थानीयवासीको यस्तो उपचार पद्धतिप्रति जनविश्वास बढेको हो । आयुर्वेदिक उपचार पद्धतिको विषयमा जानकारी पाएसँगै दैनिकरूपमा एक सय जनासम्म उपचार गराउन आउने गरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरको भनाइ छ ।

आयुर्वेद स्वास्थ्य केन्द्रको तथ्याङ्कानुसार गत आर्थिक वर्षमा आठ हजार चार सय १५ जना बिरामीले सेवा लिएका थिए । उपचारका लागि आउने अधिकांश पायल्स, ढाडको समस्या, जन्डिस, ग्यास्ट्रिक, दमखोकी, हाडजोर्नी र नशासम्बन्धीका रोगी रहेको कार्यालयको भनाइ छ ।

बिरामीको सुविधालाई ध्यानमा राख्दै स्वास्थ्य उपकरण विस्तारमा समेत ध्यान दिएको कार्यालयले जनाएको छ । तर दक्ष चिकित्सकको कमीले सेवा प्रवाहमा भने समस्या हुने गरेको छ । केन्द्रले अहिले पनि पञ्चकर्म, पूर्वकर्म सेवा सञ्चालन गरिरहेको भए पनि चिकित्सकको अभावमा सेवा प्रवाह गर्न केही कठिनाइ रहेको कार्यालयले जनाएको छ ।

लामो समयसम्म ठुल्ठूला अस्पतालमा गएर एलोपेथिक विधिबाट उपचार गराउँदा रोग निको नभएको बताउँदै बिरामी उपचारका लागि जिल्ला आयुर्वेद उपचार केन्द्र पुग्ने गरेका छन् । स्थानीय केशरबहादुर श्रेष्ठले बाहिरका ठूला अस्पतालमा गएर उपचार गराउँदा निको नभएको रोग आयुर्वेदिक उपचारबाट निको भएको अनुभव सुनाए । श्रेष्ठले भने, “खासमा हामीले यो उपचार पद्धतिको बारेमा जानकारी नपाउँदा समस्यामा परेका रहेछौँ । मेरो निकै लामो समयबाट ढाडमा समस्या थियो । उपचार गराउन विभिन्न सहरका ठूला अस्पतालमा गएँ, तर अहिले यहाँ उपचार गराउन थालेपछि निको हुँदै गएको छ ।”

केन्द्रमा पञ्चकर्म सेवाअन्तर्गत स्नेहन र स्वेदन सेवालगायत सेवा सञ्चालनमा रहेको छ । आयुर्वेदिक औषधिले स्वास्थ्यमा सुधार आएपछि उपचार पद्धतिप्रति विश्वास बढेको स्थानीयवासी पासाङदिकी शेर्पाले बताइन् । “मलाई ग्याष्ट्रिकको समस्या छ । विभिन्न अस्पतालमा उपचार गराउन गएँ”, शेर्पाले भनिन्, “त्यति गर्दा पनि निको नभएपछि अहिले करिब एक महिनाबाट नियमतिरूपमा यहाँ आएर उपचार गराइरहेकी छु । अहिले सुधार भइरहेको छ । यहाँ उपचार गराउन थालेपछि मेरो रोग निको भइरहेको छ ।”

आयुर्वेदिक औषधिले मानिसको शरीरमा राम्रो काम गर्ने भएकाले यसमा आकर्षण बढ्दै गएको कार्यालयका बैद्य अनिलकुमार मण्डलले बताए । बिरामीको चाप बढे पनि आफ्नो भवन तथा दरबन्दीअनुसारका चिकित्सक तथा कर्मचारी नहुँदा भने सहज सेवा प्रवाहमा कठिनाइ भएको कार्यालयले जनाएको छ ।

विसं २०५८ देखि जिल्लामा आयुर्वेदिक जडीबुटीद्वारा मिश्रित औषधि तथा चूर्ण सर्वसाधरणलाई वितरण गर्न सुरु गरिएको थियो । भोजपुरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुर, टक्सार, दिङ्ला र ओख्रे औषधालय शाखा रहेका छन् । त्यस्तै अरुण गाउँपालिकाको चम्पे, हतुवागढी घोडेटार, टेम्केमैयुङको अन्नपूर्ण र पौवादुङमा गाउँपालिकाको च्याङ्ग्रेमा स्थापना गरिएका नागरिक आरोग्य सेवा केन्द्रबाट स्थानीयवासीले सेवा लिइरहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया