१६ पुष, सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–११ का जीवन चालिसे दैनिक ८० लिटर दूध बिक्री गरी आम्दानी गरिरहेका छन् । उनि यस पेसाबाट आफू सन्तुष्ट रहेको बताउछन् । उनका बिसमुरे फार्ममा १० भैँसी छन् । परिवारको साथले भैँसी पाल्न सहज रहेको उनि बताउछन् । आफ्ना उमेरका अधिकांश विदेश गएका तर चालिसे अर्काको देशमा गएर काम गर्नुभन्दा आफ्नै गाउँमा भैँसीपालनमा गर्दा राम्रो आम्दानी हुने बताउछन् ।
नगरपालिकाले बीमा लगायतमा सहयोग गरे पनि अझै किसानलाई सहयोग गर्नुपर्ने उनको माग छ । घाँसपातका लागि केही असहज भए पनि अन्य धेरै दुःख नरहेको उनको भनाइ छ । बिहान साढे ४ बजेदेखि राति अबेरसम्म काममा व्यस्त रहँदा आफ्नै घरमा परिवारसँग बसेर दूध, दही र मोही खान पाउँदा आफूलाई विदेश जानुभन्दा धेरै खुसी र आनन्द रहेको उनि बताउछन् ।
पछिल्लो समय जिल्लाका युवाहरू व्यावसायिक कृषिमा जोडिइरहेका छन् । जिल्लामा पनि व्यावसायिक खेती गर्ने र पशुपालनमा जोडिने बढिरहेका छन् । यसका कारण नगरपालिका दूध उत्पादनमा आत्मनिर्भर बनेको छ ।
विगतमा उत्पादित दूधलाई स्थानीय बजारका चिया पसलमा बिक्री गर्दै आएका किसानले अब भने सहकारीमार्फत सञ्चालित केन्द्रमा दूध बिक्री गर्ने गरेका छन् । दुग्ध उत्पादनका लागि व्यावसायिक पशुपालनमा अहिले युवाको आकर्षण बढिरहेको छ । अर्काको देशमा गएर काम गर्नुभन्दा आफ्नै गाउँमा भैँसीपालनमा गर्दा आम्दानी हुने र पछिल्लो समय पशु तथा कृषि क्षेत्रमा सरकारी अनुदान बढ्नुले पनि व्यक्तिगत रुपमा गाईवस्तु पाल्ने तथा दूध उत्पादन गर्ने किसान बढ्दै गएका छन् । गाईभैँसीको व्यावसायिक पालनका लागि सरकारले प्रत्येक किसानका लागि अनुदान दिने गरेको छ ।
सरकारको प्रोत्साहनपछि यो क्षेत्रमा पशुपालन गर्ने बढेका छन् । किसानहरुले एउटै फार्ममा कम्तीमा १० देखि ८० सम्म उन्नत नस्लका गाईभैँसी पालेका छन् । डेढ वर्षदेखि व्यावसायिक रुपमा आम्दानी गरिरहेको र केहीलाई रोजगार पनि दिएको केउरानीका अर्का किसान बच्चुराम गिरीले बताए ।
नगरपालिका क्षेत्रबाट मात्रै दुग्ध चिस्यान केन्द्रमा मात्रै दैनिक सात हजार लिटरसम्म दूध सङ्कलन हुने गरेको छ । सङ्कलन भएको दूध काठमाडौँ निर्यात हुँदै आएको छ । दूध बिक्रीबाट मात्रै यस क्षेत्रका किसानले वार्षिक रु ३० करोडसम्मको आम्दानी लिने गरेको दुग्ध व्यवसायी शरण चालिसे बताउछन् । उनि भन्छन्, “पशुपालन पेसा व्यावसायिक बन्दै गएको छ ।”
उनका अनुसार मेलम्ची क्षेत्रमा व्यावसायिक रुपमा पशुपालन गर्ने बढिरहेका छन् । उत्पादित दूधको उचित मूल्य निर्धारण हुनुपर्ने तथा प्राविधिक तालिमको व्यवस्था गर्नुपर्नेमा किसानको जोड छ ।